मोरङमा वडाध्यक्षको भैँसी मर्दा कर्मचारीलाई कारवाही, क्षतीपूर्ति माग्दै प्रहरीमा उजुरी

विराटनगर– मोरङको केराबारी गाउँपालिका– ३ का वडाध्यक्ष रामचन्द्र शाहीको भैँसी मरेपछि गाउँपालिकाको पशुपंछी शाखाका प्रमुख सहदेव साह कारवाहीमा परेका छन्।
विरामी भैँसीलाई गलत तरिकाले औषधि गरेको आरोपमा साहलाई बिहीबारबाट हाजिर गर्न रोक लगाई घट्नाको छानविन सुरु गरिएको गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले बताए। छानविनका लागि कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बाँस्तोलाको संयोजकत्वमा पशु प्राविधिक र जनप्रतिनिधिसहितको ३ सदस्यीय समिति गठन गरिएको छ।
साहले उपचार गर्दै गरेको शाहीको भैसी गत मंगलबार मरेको थियो। त्यसपछि वडाध्यक्षसहितको एउटा टोली बिहीबार गाउँपालिकामा ‘डेलिगेसन’ गएको थियो। टोलीले क्षतिपूर्ति माग्दै गाउँपालिका र इलाका प्रहरी कार्यालय केराबारीमा निवेदनसमेत दिएको छ।
गाउँपालिकाले शुक्रबार छलफल राख्यो। तर, आफनो गल्ती नभएको भन्दै साह छलफलका बस्न मानेनन्। त्यसपछि उनलाई गाउँपालिकाले हाजिर गर्न रोकेको हो।
साहमाथि भएको कारबाहीलाई लिएर गाउँपालिकाका कर्मचारी भने रुष्ट छन्। कार्यालय समयमा कार्यालयकै औषधि लगेर खुवाउँदा पशु चौपाया मरे त्यसको दोष कर्मचारीलाई दिन नमिल्ने उनीहरुको तर्क छ।
गाउँपालिका अध्यक्ष मिरिङचिङले समस्या समाधान नभएसम्मका लागि साहलाई काममा रोक लगाइएको बताए। उनका अनुसार पशुपन्छी शाखा प्रमुख साहका बारेमा अन्य स्थानीयले पनि गुनासो गरेका छन्।