पौने ३ करोड धरौटी तिरेर रवि लामिछाने मैदानमा, उनकै लागि वकिल कुट्ने जैसी १ लाख नहुँदा जेल गए

काठमाडौँ– सहकारी ठगीको आरोपमा पक्राउ परेका रवि लामिछानेको विपक्षमा वहस गरेको रिसमा वकिललाई कुटपिट गर्ने रास्वपाका जिल्ला उपसभापति धरौटी तिर्न नसकेपछि जेल गएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसीलाई काठमाडौँ जिल्ला अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, धरौटी बुझाउने पैसा नहुँदा उनी कारागार चलान भएका छन्।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा तीनै जनासँग एक/एक लाख रुपैयाँ धरौटी माग गरेको थियो। २ जना धरौटी बुझाएर रिहा भएपछि जैसी भने जेल गएका हुन।

उनलाई केन्द्रीय कारागार सुन्धाराको जगन्नाथदेवल पठाइएको छ। हुम्लाको अदानचुली गाउँपालिका ४ का ३२ वर्षीय जैसी काठमाडौँको टोखामा बस्दै आएका छन्। अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा प्रहरीले जैसीसहित तीन जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो।

दोलखाको तामाकोसी गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ती गाउँपालिका ४ घर भई शान्तिनगर बस्ने ५५ वर्षकी शीतल राई भन्ने सितादेवी राईले धरौटी बुझाइ सकेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा २ माघमा जाहेरवालाको तर्फबाट बहस गरेका त्रिपाठीलाई जिल्ला अदालतको गेट बाहिर कुटपिट गरिएको थियो।

त्रिपाठीमाथि कुटपिट भएकै दिन रवि भने ६० लाख धरौटी बुझाएर रिहा भएका छन्। रविले सहकारी ठगीका चार वटा मुद्दामा पोखरा, काठमाडौँ, रुपन्देही र चितवनमा गरी २ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन।

तर उनकै बचाउनमा उत्रिएका कार्यकर्ता जैशी भने १ लाख धरौटी बुझाउन नसक्दा जेल पुगेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट