ड्युटीमा रहेका असईलाई अचानक सास फेर्न समस्या, डेढ घण्टाभित्रै मृत्यु

जनकपुर– महोत्तरीमा नेपाल प्रहरीका एक जना असई (प्रहरी सहायक निरीक्षक) को अचानक मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गरिरहेका असइ सुरेन्द्रराम चमारको बुधबार साँझ मृत्यु भएको हो।
ड्युटीमै रहेका वेला साँझ करिव ५ बजे अचानक श्वास लिन समस्या भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर पु¥याईए पनि साँझ करिव सवा ६ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
चिकित्सकले सिपिआरसहितको कृत्रिम माध्यमले अक्सिजन दिने प्रयास गरेका थिए। सुगर तथा ब्लडप्रेसरका दीर्घरोगी रहेका चमार ७ महिना पहिले सिन्धुपाल्चोकबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय महोत्तरी आएका थिए।
२३ वर्ष १० महिना ८ दिन प्रहरीमा सेवा गरेका असइ चमारका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनका जेठो छोरा रोजगारीका लागि विदेशमा छन् भने अर्का छोरा अध्ययनकै क्रममा छन्। छोरीको भने बिवाह भइसकेको जनाईएको छ।