युक्रेनी सेनाको कब्जामा रहेका २ नेपालीको ९ महिनापछि उद्धार, शुक्रबार नेपाल आउने

काठमाडौँ– दलालको प्रलोभनमा परेर युक्रेन पुगी ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार भएको छ। उनीहरु शुक्रबार नेपाल फर्किने तयारीमा छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसीका अनुसार तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई सेनाको कब्जाबाट मुक्त गरिएको हो। उनीहरु युक्रेनको मिकोलाइटस्थित एमसिसी डिटेन्सन केन्द्रमा थिए।
मे महिनादेखि बन्धक बनेका दुवैको उद्धार भइसकेको जनाईएको छ। एनआरएनको आधिकारिक फेसबुक पेजमा अध्यक्ष केसीले लेखे अनुसार दुवै जना नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए।
दुवै जनालाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएको केसीले उल्लेख गरेका छन्। गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरूलाई टर्किस्ट एयरलाइन्सको उडानमार्फत् माल्दोवाबाट शुक्रवार दिउँसो काठमाडौं ल्याइने समेत उनले जानकारी दिएका छन्।