विदा लेखेर ८ महिनादेखि अस्ट्रेलिया बसेकी शिक्षिकाको नाममा दसैंखर्चसहित ४ महिनाको तलब निकासा

लहान– अष्ट्रेलियामा बसेर किर्ते हाजिरी गराई दसैंखर्चसहित ४ महिनाको तलब बुझ्ने एक शिक्षिकालाई सहयोग गरेको आरोपमा सिरहाको गोलबजार नगरपालिकाका शिक्षा शाखा प्रमुखसहित ३ जना कर्मचारी निलम्बनमा परेका छन्।
शिक्षा शाखा प्रमुख सुबोधकुमार लामा, सिराहाको गोलबजार नगरपालिका– ४ स्थित जनता नमुना (प्राविधिक) माविका प्रधानाध्यापक भरतप्रसाद साह र लेखा प्रमुख रामेश्वर साहलाई बुधबारदेखि लागू हुने गरी निलम्बन गरिएको हो।
बुधबार सम्पन्न नगर शिक्षा समितिको बैठकले घट्नाको छानविन गर्ने र त्यस अवधिसम्मका लागि उनीहरुलाई नगरपालिकामा उपस्थित गराई ठाडो हाजिरीमा राख्ने र तलब–भत्ता रोक्ने निर्णय भएको निर्णय प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए।
वैठकको निर्णय अनुसार छानबिन अवधिभर विद्यालयको दैनिक प्रशासनिक, आर्थिक कृयाकलप सञ्चालनका लागि सहायक प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवलाई प्रधानाध्यापकको जिम्मेवारी तोकिएको छ भने कार्यरत शिक्षकहरु मध्येबाट एक जनाले लेखाको कामकाज गर्न कामकाज गर्ने निर्णय भएको छ।
पुरीका अनुसार निलम्बनमा परेका तीनै जनामाथि ‘असाधारण’ बिदा मागेर छोरी भेट्न अस्ट्रेलिया गएकी द्वितीय तहमा कार्यरत शिक्षिका विमलाकुमारी झालाई गैरकानुनी रुपमा तलव खुवाएको आरोप छ।
पछिल्लो ८ महिनादेखि अस्ट्रेलियामा रहेकी शिक्षिका झाको आार्थिक वर्ष ०८१/८२ को पहिलो चौमास (साउनदेखि कात्तिकसम्म) र दसैँखर्चसहित २ लाख ९६ हजार ३४५ रुपैयाँ ९५ पैसा निकासा गरेर अपचलन गरिएको पाईएको छ। विद्यालयकै एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएपछि यो घटना सार्वजनिक भएको थियो।
अष्ट्रेलियामा रहेकी शिक्षिकाको विद्यालयमा किर्ते हाजिरी गरिएको पाईएको छ। सोही हाजिरीका आधारमा दसैँखर्चसहित ४ महिनाको तलब निकासा गरिदिने प्रकरणमा उनीहरुको संलग्नताको आशंका रहेको पुरीले जानकारी दिए।
‘विमलाकुमारी झाको आव ०८१/८२ को पहिलो चार महिनाको तलब र दसैँखर्च निकासा सिफारिसमा शाखा प्रमुख सुबोधकुमार लामाको संलग्नता हो/होइन भन्ने छानबिनका लागि जिम्मेवारीबाट हटाइएको हो’ पुरीले भने– ‘छानबिनको अन्तिम किनारा नलाग्दासम्म उहाँको नाममा रहेको नगदी तथा जिन्सी सामान बरबुझारथ गर्न लगाई शाखाको कामकाजबाट जिम्मेवारीविहीन गराउने निर्णय भएको छ।’