‘नो केबलकार समूह’को आमहड्तालका कारण विरामीको विचल्ली, सुत्केरी ब्यथा लागेकी महिलालाई फिर्ता पठाईयो

विराटनगर– पाथिभरामा केबलकार निर्माण प्रक्रियाको विरोध गरिरहेको समुहको आमहड्तालका कारण विरामीको विचल्ली भएको छ। वन्दकर्ता ‘नो केबलकार समूह’ले मेची राजमार्गअन्तर्गत पाँचथरको जोरपोखरी–गोपेटार सडक खण्डमा सोमबार राति रुख ढालेर अवरोध गरेका छ।
सडक अवरोधका कारण विरामीलाई अस्पतालसम्म पुर्याउन समेत समस्या भएको छ। गएराति करिव २ बजे हिलिहाङ–२ को सिंहापुरदेखि सुत्केरी गराउन सदरमुकाम फिदिम ल्याइँदै गरेकी १८ वर्षीय कल्पना जोगीलाई बाटैबाट फिर्ता पठाईएको छ।
बाटोमा चारवटा रुख ढालेर बाटो अवरुद्व गरिएको पाईएपछि बिहानसम्मै एम्बुलेन्स बाटैमा रोकिएको थियो।चालक नुपु शेर्पाले रुख ढलेर बाटो अवरोध भएको र एम्बुलेन्समा बिरामी चिच्याइरहेको भीडीओ सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। ती महिलालाई पुनः गोपेटार नै फर्काइएको छ।
जोगीलाई सोमबार बिहानैदेखि प्रसुति व्यथाले च्यापेको थियो। मंगबार बिहानसम्म पनि प्रसुति गराउन नसकिएको गोपेटारका स्वास्थ्यकर्मीले बताएका छन्। अवस्था केही जटिल रहेको उनीहरुको भनाई छ। प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ।
‘नो केबलकार समूह’ले आजदेखि अरुण पूर्वका ९ जिल्लामा आमहड्तालको आह्वान गरेको छ। उनीहरुले १६ माघदेखि मेची राजमार्ग र तमोर करिडोर बन्द गरेका थिए।