प्रेम छुटाउन ल्याईएकी १४ वर्षीया बालिकाको आमाबुबासहित परिवारै मिलेर हत्या, ७ जना पक्राउ

विराटनगर– विराटनगर महानगरपालिका–५, विशालचोकको कलेर्वा टोलमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी १४ बालिकाको हत्यामा उनकै आमाबुबा र मावली परिवार संलग्न रहेको खुलेको छ।
भारतको बिहार राज्य अन्तर्गत छपरा जिल्लामा घर भएकी १४ वर्षीया बालिका चाँदनी यादवको शव उनका मावली हजुरबुबा कलेर्वाटोल निवासी सरजुग मण्डलको घरनजिकै खाल्डो खनेर गाडेको अवस्थामा शुक्रबार (१८ माघ) फेला परेको थियो। घरबाट १ सय २५ फिट दक्षिणमा ४ फिट गहिरो खाल्डो खनेर कपडासहित घोप्टो पारेर गाडिएको अवस्थामा प्रहरीले शव उत्खनन् गरी निकालेको थियो। हत्या कहिले, कसरी र क–कस्को संलग्नतामा भयो भन्ने एकिन भएको छैन।
तर, चाँदनीको हत्यामा उनकै आमा राजकुमारी मण्डल यादव, बुबा लालमोहन यादव र मावली परिवारको संलग्नतामा ११ माघको राति भएको प्रहरीको अनुमान छ। हत्याको कारण भने बालिकाको प्रेम सम्वन्ध रहेको खुलेको छ। प्रहरीले पाएको जानकारी अनुसार राजकुमारी सरजुगकी माइली छोरी हुन्। राजकुमारीका चाँदनी बाहेक २ छोरा छन्।
चाँदनी गाउँकै एक ब्यक्तिसँग प्रेम सम्वन्धमा थिईन। आमाबुबाले उनको प्रेम सम्वन्धलाई स्विकार गर्न सकेनन्। त्यसपछि लालमोहन र राजकुमारी दुवै मिलेर करिब १ महिनाअघि चाँदनीलाई मावली लिएर आएका थिए। निकै दिन विराटनगर नै बसेका आमाबुबा मामाघरबाट चाँदनीलाई नलिइकन आफ्नो घर फर्किए। बाबुआमाले नलगेकी चाँदनी मामाघरमा पनि नदेखिएपछि उनी बेपत्ता भएको हल्ला गाउँमा गाइँगुइँ चल्न थाल्यो।
चाँदनी मामाघरमा आउजाउ गरिरहने भएकाले वरीपरी परिचित थिईन। त्यसैले उनको बारेमा गाउँमा चासो वढ्नु स्वभाविकै थियो। एक जना, दुई जना गर्दै चाँदनी हराएको सूचना प्रहरीसम्म पुग्यो। त्यसपछि प्रहरीले बालिकाको खोजतलास सुरु गर्यो।
प्रहरीले बालिकाका हजुरबुवा सरजुगलाई सोधपुछ गर्यो। उनले नातिनी आफ्नै घरतिर गइसकेको बताए। त्यसपछि ह्वाट्सएप मार्फत प्रहरीले भारतमा रहेका आमाबुबासँग पनि सम्पर्क गर्यो। उनीहरुले छोरी मामाघरमै रहेको बताए। यतीमात्रै होईन, राजकुमारीले ‘मेरो छोरीका बारेमा तपाईंहरुलाई किन चासो पर्यो ?’ भन्दै प्रहरीलाई थर्काउन समेत भ्याईन।
यसरी आमाबुबा र मावलीको कुरा वाझिएको र केही कुरा लुकाउन खोजेस्तो लागेपछि बालिकाको हत्या भईसकेको लगभग पक्का गरी प्रहरीले खोजतलास गर्न थाल्यो। नभन्दै घर नजिकै करेसा वारीमा भर्खरै खनेको जस्तो आलो माटो देखियो। वरपर तोरीको गट्टे (दाना झारिसकिएको तोरीको बोट)ले छोपिएको थियो। प्रहरीले त्यसलाई खनेर हेर्दा बालिकाको शव फेला पर्यो। शरीर कुहिन थालेको र दुर्गन्धित अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेदप्रकाश जोशी बताउँछन्।
उनका अनुशार प्रेम सम्वन्ध छुटाउन उनलाई मामाघर ल्याईएको थियो। तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसेपछि रिसको झोंकमा सबै मिलेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुशन्धानमा खुलेको छ। घटना लुकाउन शव गाडेको पाईएको डीएसपी जोशीले वताए। स्रोतका अनुसार चाँदनीको हत्यापछि शव व्यवस्थापन गरेर आमाबुबा भारतस्थित घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले अहिले चाँदनीका मावली हजुरबुवा ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु मण्डल, जेठी छोरी उर्मीला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत ८ जनालाई पक्राउ गरेको छ। अहिलेसम्म पनि उनीहरुले बास्तविक घट्ना प्रहरीलाई बताएका छैनन्।
उर्मीला सरजुगकी जेठी छोरी हुन भने रामबाबु उनका छन्। अञ्जली र बबिदेबल उर्मीलाका छोराछोरी हुन्। उर्मीलाका पतिको निधन भएकाले उनी छोराछोरीसहित माइतीमै बस्दै आएकी छिन्। बतासीबाहेक अरु सबै जना एउटै घरमा बस्थे। बतासीको घर भने सरजुगको नजिकै छ।