तनहुँमा कल्भर्टमाथि बस पल्टियोः १ किशोरीको मृत्यु, १३ जना घाईते

पोखरा— पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा शुक्रबार दिउँसो यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु र १३ जना घाइते भएका छन्।
दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख २९९९ नम्बरको बस आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा दिउँसो करिव ४ बजे दुर्घटना भएको हो। अनियन्त्रित भएको बस सडक छेउको कल्भर्टमा पल्टिएको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाका अनुसार दुर्घटनामा चितवनको भरतपुर महानगरपालिकाकी २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको छ। घाइते भएकी सापकोटालाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्।
घाईते मध्ये १२ जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ भने आँबुखैरेनी गाउँपालिका–३ का ४२ वर्षीया दमन्ती थापालाई उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको छ। उनको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
बसका चालक भानु नगरपालिका–५ का ३५ वर्षीय रवीन्द्र घले पक्राउ परेका छन्।