के हमासको कब्जाबाट साँच्चै रिहा हुँदैछन त विपिन जोशी ? के हो ५८ नम्बरको सत्यता ?

काठमाडौँ– विगत १५ महिनादेखि हमासको कब्जामा रहेका नेपाली युवक विपिन जोशी जीवितै रहेको र रिहा हुनेहरुको सूचिमा ५८औं नम्बरमा नाम रहेको भन्दै एउटा चिर्कटोको सामाजिक सञ्जालमा ब्यापक चर्चा छ।

इजरालयको अखबार टाइम्स अफ इजरायलले पनि आफ्नो समाचारमा हमासको बन्धक सूचीमा एक जना नेपाली रहेको उल्लेख गरेको छ। अखबारले विपिनको नाम भने उल्लेख गरेको छैन। तर, उनी नै हुनसक्ने आशंका भने छ। किनकी कञ्चनपुर भीमदत्त नगरपालिका– २, भासीका विपिन जोशीबाहेक अन्य नेपाली हमासको कब्जामा रहेको पुष्टि हालसम्म भएको छैन।

समाचारमा हमासको बन्धकको सूचीमा एक नेपालीसहित ८ थाई र एक तान्जानियाका रहेको भनिएको छ। साथै दुई जना थाई नागरिकको ज्यान गएको पुष्टि भएको पनि समाचारमा उल्लेख छ। यता, सामाजिक सञ्जालमा भने बन्धकहरूको सूची भनेर दाबी गरिएको चिर्कटो सार्वजनिक गरिएको छ। जसमा विपिनको नाम ५८ औँ नम्बरमा रहेको देखिन्छ।

तर, त्यो चिर्कटोले सर्वसाधारणलाई भ्रममा पारेको देखिएको छ। ५८औँ नम्बरमा विपीनको नाम लेखिएको चिर्कटो हमासको बन्धनबाट मुक्त हुनेहरूको सूची होइन। हमासको बन्धनमा परेकाहरूका परिवार र आफन्तजनहरूले ‘होस्टेज एन्ड मिसिङ फ्यामिली फोरम’ नामको एउटा संस्था खोलेका छन्। उक्त संस्थाले ‘स्टोरिज डट ब्रिङ देम होम नाऊ डट नेट’ नामको वेबसाइट चलाउँछ। रिहा हुनेहरूको ५८औँ नम्बरमा विपीन जोशीको नाम लेखिएको भन्दै सामाजिक सञ्जालमा हालिएको चिर्कटो यही वेबसाइटबाट लिइएको हो। यस वेबसाइटले हमासको बन्धनमा रहेकाहरूको सूची निकालेको छ। सूचीको ५८औँ नम्बरमा विपीन जोशीको नाम छ।

यता, चिर्कटो सार्वजनिक भएपछि इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले भने त्यसबारे आफूलाई आधिकारिक जानकारी नआएको बताएका छन्। एउटा अनलाईन मिडियासँग प्रतिक्रिया दिँदै राजदुत पण्डितले बिहीबार थप तीन जना इजरायली नागरिकसहित पाँच जना थाई नागरिक छुट्दै गरेको जानकारी पनि दिए।

विहिबारको रिहाइपछि अहिलेसम्मको हिसाबमा हमासको कब्जामा बाँकी रहेका विदेशीको संख्या २ मात्र रहेको उनको भनाई छ। जसमा एक जना थाई र एक जना नेपाली छन्। उनीहरूको रिहाइको बारेमा अहिलेसम्म आफुलाई आधिकारिक जानकारी प्राप्त नभएको पण्डितको भनाई छ। शनिबारबारसम्म अर्को लट छोड्ने भन्ने जानकारी आएको बताएका उनले विपिनको वारेमा सार्वजनिक भईरहेका सूचनामा कुनै सत्यता नरहेको जानकारी दिए।

सन् २०२३ नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेजमा देखिएका केही मानिसमध्ये एक जना नेपाली नागरिक पनि रहेको इजरेली सेनाले जनाएको थियो।

आकाशे रङको टिसर्ट, हाफपाइन्ट र चप्पलमा देखिएका ती युवक विपिन नै भएको पुष्टि परिवारले गरेको थियो। इजरायलमाथि आक्रमण भएकै दिन अर्थात् ७ अक्टुबर २०२३ मा हमास लडाकुले उनलाई एक ठाउँबाट अर्को ठाउँ सार्दै गरेको भिडियोमा देखिन्थ्यो।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी र अन्य देशका नागरिकसहित १ हजार २ सय जनाको मृत्यु भएको थियो। उक्त घटनामा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए। तीमध्ये नेपालका विपिन जोशी पनि रहेको बताइँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट