कुम्भमेलामा भागदौड हुँदा कम्तिमा १ दर्जन मानिसको मृत्यु भएको आँकलन

काठमाडौँ– भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलामा बुधबार विहान भागदौड हुँदा कम्तिमा १ दर्जन मानिसको मृत्यु भएको आँकलन गरिएको छ।

प्रयागराजका एक स्वास्थ्यकर्मीले उक्त घटनामा कम्तीमा एक दर्जन मानिसको ज्यान गएको बताएका छन्। घाईतेहरुलाई अस्पतालहरुमा भर्ना गरिएको छ। अस्पतालमा सञ्चारकर्मीलाई प्रवेश दिइएको छैन। त्यहाँ बिहानैदेखि एम्बुलेन्सको आउजआउ भएको देखिन्छ।

भारतीय समाचारसंस्था पीटीआईले सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको भिडिओमा घाइतेहरूलाई ‘सेक्टर२४’ स्थित अराइल उपकेन्द्रीय अस्पतालमा लगिएको देखिन्छ।

बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा ‘अमृतस्नान’ हुन लागेका बेला उक्त घटना भएको बताइएको छ। भिडले त्यहाँ लगाइएको घेरबार तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका अनुसार केही तीर्थयात्रीले प्रहरीले लगाएको छेकबार नाघेर सङ्गमतिर जान खोजेपछि बिहान १ देखि २ बजेका बीचमा घटना भएको हो। उक्त घटनापछि सबै अखाडाहरूले औँसीका दिन हुने विशेष स्नानको कार्यक्रम रद्द गरेका छन्।

अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले भागदौडका कारण कार्यक्रम रद्द गरिएको बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने मानिसका परिवारजनप्रति समवेदना व्यक्त गर्दै उक्त घटनामा मानिसहरूको मृत्यु भएको पुष्टि गरेका छन्। घट्नापछि विपक्षी दलका नेताहरूले अव्यवस्थाका कारण उक्त दुर्घटना भएको आरोप लगाउँदै सरकारको आलोचना गरेका छन्।

संसद्मा प्रमुख विपक्षी दल भारतीय कङ्ग्रेसका नेता राहुल गान्धीले ‘अव्यवस्था र सर्वसाधारण भक्तजनलाई नभई भीआईपीलाई बढी ध्यान दिने प्रशासनको व्यवहारका कारण यो दुःखद घटना’ भएको टिप्पणी गरेका छन्।

कुम्भमेला के हो?
कुम्भमेला पौराणिक प्रसंगसँग जोडिएको छ। धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार देवता र दानव मिलेर समुद्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ) का लागि दुई पक्षबीच युद्ध भएको थियो। अमृत पिएर अमर हुन पाउने लोभमा सुरु भएको देवासुर सङ्ग्राम १२ देव वर्षसम्म चलेको थियो। युद्धका क्रममा उक्त कुम्भबाट केही थोपा अमृत प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको किंबदन्ती छ।

प्रत्येक देववर्षको अवधि पृथ्वीमा १२ वर्षसम्म हुने गर्छ। कुम्भमेला चार सहरहरूमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ। दुइटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ। चारवटै सहरमा कुम्भमेलाको आयोजना गर्ने गरिएको भए पनि सबैभन्दा प्रयागराजमा आयोजित हुनेलाई महाकुम्भ मानिन्छ। त्यहाँ पुग्ने श्रद्धालु र पर्यटकहरूको संख्या प्रत्येक पटक बढ्दै गएको पाइन्छ।

यस वर्षको कुम्भ मेला अझ विशेष महत्वको थियो। यस्तो उत्तम अवस्था १४४ वर्षपछि पहिलो पटक आएको अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरी बताउँछन्। ‘घडाबाट अमृत छचल्किएर पोखिँदाको समय जसरी नै अहिले ग्रह र नक्षत्रहरू मिलेर बसेका छन्,’ उनले भनेका थिए, ‘यस्तो उत्तम अवस्था १२ वटा कुम्भ पर्वपछि अर्थात् १४४ वर्षपछि आएको छ।’

कुम्भमेलाको व्यवस्थापन गर्ने अधिकारीहरूले अमावस्याका दिन हुने अमृतस्नानका लागि आठदेखि १० करोड श्रद्धालु प्रयागराज पुग्ने ठानेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट