विवाह गर्न नमान्दा भिरबाट हुत्याएर फुपू–भदैनीको हत्या भएको आशंका, भिनाजु नाता पर्नेसहित ५ युवक पक्राउ

काठमाडौँ– अछामको ढकारी गाउँपालिका–८, पलसाटाका १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईश्वरी खड्काको शंकास्पद मृत्यु प्रकरणमा ७ जना विरुद्ध किटानी जाहेरी परेको छ। ती मध्ये ५ जना युवक पक्राउ परेका छन्।

पीडित परिवारले ढकारी गाउँपालिका–१ र ३ का गरी शंकास्पद ७ जनाको नाम उल्लेख गरेर अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले सुरुमा दुई युवकलाई पक्राउ गरेको थियो। उनीहरुको वयानका आधारमा थप ३ जना पक्राउ परेका हुन। अछाम प्रहरी प्रमुख, डीएसपी इश्वरीप्रसाद भण्डारीका अनुसार पक्राउ परेका किशोरहरु नाताले मृतक एक किशोरीका भिनाजु पर्छन।

अनुसन्धानका क्रममा मृतक किशोरीहरुसँग पक्राउ परेकाहरुले भेटघाट गर्ने गरेको पाइएको छ। घटनाका दिन स्थानीयले घटनास्थलभन्दा माथि केही किशोरलाई देखेका पनि थिए। हालसम्मको अनुसन्धानले एक जना किशोरीले बिवाह गर्न नमान्दा दुवै जनाको हत्या भएको देखिएको छ।

पक्राउ परेका १७ वर्षीय किशोरले मृत भेटिएका मध्ये एक किशोरीलाई बिवाहका लागि दबाब दिएका थिए। बिवाहको दबाब दिन उनीहरु किशोरीहरू गोठाला गएको जंगलमै पुगेको खुलेको छ। तर, किशोरीले उनीहरुको प्रश्तावलाई अस्विकार गरिन। नमानेपछि उनलाई भीरबाट खसालिदिएको खुलेको छ। यो घट्ना देखेका कारण अर्की किशोरीलाई पनि त्यसरी नै भीरबाट फालिदिएको प्रहरी स्रोत बताउँछ। उनीहरूमाथि बलात्कार भए/नभएको विषयमा पनि आवश्यक जाँच भईरहेको प्रहरीको भनाई छ।

स्थानीयका अनुसार नातामा सरस्वती फुपू र ईश्वरी भदैनी हुन। ईश्वरीका हजुरबुबा अबी र सरस्वतीका बुवा उदय दाजुभाइ हुन्। ईश्वरीका बुवा कमल र सरस्वतीका बुवा उदय भारतमा काम गर्छन्। सरस्वती र इश्वरी नातेदार भन्दा पनि मिल्ने साथी पनि थिए। कमलबजार नगरपालिका–१० को विद्या प्रबोधनी माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने उनीहरु विद्यालयदेखि मेलापातसम्म सँगसँगै हुन्थे।

११ माघमा उनीहरु विद्यालय नगएर घरका सदस्यलाई सघाउँन थाले। घरबाट केही तल रिमा भन्ने ठाउँमा उनीहरुको गोठ छ। खाना खाएर उनीहरु सोडसा सामुदायिक वनको छिन्ने भीरतिर बाख्रा चराउन गए। बेलुका बाख्रा आफैँ गोठमा फर्के, तर गोठाला फर्केनन्। परिवारले उनीहरूको मोबाइलमा फोन गरे। एउटा मोबाइल स्विचअफ थियो भने अर्कोमा घण्टी लाग्यो, तर उठेन।

त्यसपछि ‘दुवै जना बिवाह गरेर भागेको’ भन्दै गाउँमा हल्ला चल्यो। तर, परिवारका सदस्य भने खोजतलासमा लागे। यसैबीच शनिबार (१२ माघ) दिउँसो माछा मार्न गएका स्थानीयले ढकारी गाउँपालिका–१ छिन्ने भीरमा शव देखेछन्। हल्लाखल्ला भयो। पुगेर हेर्दा इश्वरीका दाइ कृष्णले बहिनीको शव चिनिहाले। केहीमाथि सरस्वतीको पनि शव भेटियो।

दुवैका अनुहार क्षतविक्षत थिए। शरीरमा निलडाम र घाउ थियो। प्रहरीका अनुसार सरस्वतीको खुट्टासमेत भाँचिएको छ। नजिकै रगतले लतपतिएको ढुंगा पनि थियो। आफन्तका अनुसार शव हेर्दा हत्या गरेर फालेको जस्तो देखिन्छ।

जिल्ला प्रहरी कार्यालय अछामले घटनाको सुक्ष्म अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा भेटिएका किशोरीहरूले प्रयोग गर्ने दुई वटा मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मोबाइलबाट प्राविधिक पक्षको पनि विश्लेषण भइरहेको प्रहरीले जनाएको छ।

किशोरीहरूको शवको भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको छ। अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा किशोरीहरूको टाउकोमा गम्भीर चोट देखिएको छ भने एक किशोरीको मेरुदण्ड नै भाँचिएको पाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट