फुपु भदैनीको मृत्यु प्रकरण हत्या नै भएको प्रारम्भिक निस्कर्ष, अनुशन्धानका लागि २ जना पक्राउ

काठमाडौँ– अछामको ढकारी गाउँपालिका–१ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ रहस्यमय रुपमा मृत फेला परेका फुपु भदैनीको हत्या भएको प्रारम्भिक निस्कर्षसहित प्रहरीले अनुशन्धान थालेको छ।
ढकारी गाउँपालिका–८ की १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको शव शनिवार साँझ जङ्गलमा भेटिएको थियो। उनीहरु शुक्रवार बाख्रा गएपछि घर फर्किएका थिएनन्। खोजतलास गर्ने क्रममा दुवै जनाको शव शनिवार फेला परेको हो। मृतकमध्ये सरस्वती फुपू र ईशरा भदैनी हुन।
अछाम प्रहरीका डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार दुवै किशोरीको शव अलग–अलग ठाउँमा फेला परेको छ। उनीहरुको टाउकोमा गहिरो चोट लागेको छ भने अन्य भागमा पनि चोटहरू देखिएका छन्। इशराको शव बाटोदेखि करिब २० मिटरको दूरीमा छ। उनको टाउको र निधारमा ठुलो घाउ लागेको प्रहरीले जनाएको छ।
शव बुट्यानमा अड्किएको जस्तो देखिन्छ। इशराको शव भएको ठाउँभन्दा करिब १६ मिटरमाथि सरस्वतीको शव छ। उनको शव घोप्टो पल्टिएको र खुट्टा भाँचिएको छ। यो सवै हेर्दा उनीहरुको हत्या भएको जस्तो देखिएको प्रहरीले जनाएको छ।
आइतबार अछामका सीडीओ शिवप्रसाद लम्साल र डीएसपी भण्डारीसहितको टोली घटनास्थलमा पुगेको थियो। उनीहरु फर्किँदासम्म घट्ना कसरी भयो? भन्ने विषय खुलिसकेको छैन। शव पोस्टमार्टमका लागि आइतबार साँझ नै नेपालगञ्ज पठाईएको छ। त्यसको रिपोर्टपछि मात्रै घटनाबारेका तथ्यहरू खुल्ने डिएसपी भण्डारीले जानकारी दिएका छन्।
डिएसपी भण्डारीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेका छन्। घटनामा संलग्न भएको हुनसक्ने आशङ्कामा अनुशन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
परिवारका सदस्यहरूले भने उनीहरूको हत्या गरिएको दाबी गरिरहेका छन्। दुई किशोरीको मृत्युले गाउँ शोक र त्रासमा छ। गाउँलेले आफूहरू पनि असुरक्षित भएको महसुस गरेका छन्।
यो पनि,