बालिकाको नाङ्गो भीडीओ खिचेर पोर्न साईटमा राख्ने र गोप्य अंग समाउने पाष्टर विरुद्ध प्रशासनमा उजुरी
इटहरी– क्रिसमस मनाउने क्रममा बालिकालाई स्टेजमा नाङ्गै पारेर भीडीओ बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको र गोप्य अंग समाएको आरोप लागेका सुनसरीको धरानका एक जना पास्टरविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।
पीडित दुई बालिकाले धरानस्थित होसना बापटिस चर्चका पास्टर डेबिड लिम्बू (नाम परिवर्तन) विरुद्ध १४ पुसमा प्रशासनमा उजुरी दिएका हुन्। उजुरीमा ‘येशुले मुक्ति दिनुहुन्छ’ भन्दै आफुहरुको गोप्य अंग छोएको र नाटक देखाउने क्रममा स्टेजमा नाङ्गै पारेर भीडीओ बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप छ।
उजुरीमा भनिएको छ–‘नाटक देखाउने क्रममा बगैँचामा डुल्नेबेलामा नांगै डुल्नु भनेर हामीले नमान्दा नमान्दै जबर्जस्ती कपडा खोल्न लगाइयो। नाटकको तयारी थाल्दा एक्लै कोठमा जबर्जस्ती गर्ने, शरीर छाम्ने, गोप्य अंग छुने र धेरै पटक यसो नगर्नु भन्दा येशुले तिमीहरुलाई मुक्ति दिनुहुन्छ भनेर फकाइयो।’
उक्त भीडीओका कारण मानसिक यातना भएको पीडितले उजुरीमै उल्लेख गरेका छन्। उनीहरुले भनेका छन्–‘भिडियो साथी र परिवारलाई पठाएर हामीलाई ज्यादै मानसिक तनाब भएको छ। पढ्न, निदाउन र खानपिन गर्न पनि समस्या भएको छ। हाम्रो भीडीओ पोर्नसाइटमा राखेर पनि बेइज्जत गरिएको छ।’
बालिकाहरुले पास्टरलाई तत्काल कारवाही गर्न माग गर्दै दिएको उजुरीको बोधार्थ राष्ट्रिय महिला आयोगलाई पनि दिईएको छ।