भुटानी शरणार्थी प्रकरणमा उच्च अधिकारीको नाम लिन प्रतिवादीलाई दबाब दिने डीएसपीको जिम्मेवारी खोसियो
काठमाडौँ– भुटानी शरणार्थी प्रकरणमा हालसम्म नाम नजोडिएका कतिपय उच्च तहका ब्यक्तिको ‘नाम लिनु’ भन्दै प्रतिवादीलाई दबाब दिएको खुलासा भएपछि केन्द्रीय कारागार, जगन्नाथदेवलका डीएसपीको जिम्मेवारी खोसिएको छ।
कारागार सुरक्षामा खटिएका डीएसपी जीवन निरौलाको जिम्मेवारी खोसेर रानीपोखरी सरुवा गरिएको छ। स्रोतका अनुसार डीएसपी निरौलाले थुनामा भएकाहरूलाई बयान गर्दा ‘उच्च तहका अधिकारीको नाम लिनु’ भनेर दबाब दिएको खुलेको छ।
प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्– ‘थुनामा रहेकाहरूलाई अनुसन्धानमा नखुलेका व्यक्तिहरूबारे बयानमा नाम लिन डीएसपीले दबाब दिएको भेटिएको छ।’ बेचन झालाई प्रतिवादी बनाएर दर्ता गरिएको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा प्रतिवादीहरूको बयान भइरहेको छ।
उक्त मुद्दाका अधिकांश प्रतिवादीहरु पुर्पक्षका लागि केन्द्रिय कारागारमै छन्। शरणार्थीको मुद्दामा अनाबश्यक चासो र दखल दिएपछि निरौलालाई रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको जनाईएको छ। निरौलाको ठाउँमा उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीएसपी सुवास खड्कालाई पठाइएको छ।
नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा बेचन झालाई प्रतिवादी बनाएर ३० साउन पूरक अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरिएको थियो। झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी वकिलको मागदावी छ।
झाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर गरेको अभियोगमा मुद्दा दायर भएको छ।