आफन्तको घर हिडेकी १३ वर्षीया बालिकालाई फकाएर बाटैमा विवाह गर्ने वेहुलासहित २ जना पक्राउ
दिक्तेल– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी १३ वर्षीय कृष्टिना (नाम परिवर्तन) ८ पुसमा आफन्तकोमा जान भनेर घरबाट हिडेकी थिईन। तर, सयमा घर नफर्किएपछि उनको खोजी सुरु भयो।
खोजतलासका क्रममा सोही नगरपालिकाको वडा नं. १२, जालपा स्थित रमेश राईको घरमा बालिका फेला परिन। तर, उनी घरबाट निस्कँदा जस्तो थिईनन्। उनको परिचय नै फेरिएको थियो। कक्षा–८ मा पढ्दै गरेकी कृष्टिनाको सिउँदोमा सिन्दुर र गलामा पोते थियो। उनी कसैकी वुहारी र कसैकी श्रीमतीको रुपमा थिईन।
आफ्नी छोरीलाई यो अवस्थामा फेला पारेपछि परिवारका सदस्य आश्चर्यमा परे। सोधपुछ गर्दा आफन्तको घरमा हिडेकी बालिकालाई बाटैमा रोकेर विभिन्न प्रलोभन देखाई २८ वर्षीय रमेशसँग विवाह गराईएको खुल्यो। ८ पुसमा युवकको घर पुर्याइएकी बालिकालाई ९ पुसमा किरात संस्कार अनुसार विवाह गरेर भित्र्याईएको थियो।
यो घट्नाका विषयमा जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराईयो। प्रहरीले अहिले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला) रमेश र बालिकाकी आफन्त कमला राईलाई पक्राउ गरेको छ। रमेश १२ पुस र कमला १३ पुसमा पक्राउ परेका हुन। कृष्टिनालाई उद्धार गरी जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध बालविवासम्बन्धी कसूर अन्तर्गतको मुद्दा चलेको डीएसपी प्रतिक विष्टले बताए। मुलुकी अपराधसंहिता ०७४ को परिच्छेद ११ विवाहसम्बन्धी कसूरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। विवाह गर्ने व्यक्तिको उमेर २० वर्षभन्दा कम भएको खण्डमा उक्त विवाह स्वतः रद्ध हुने मुलुकी अपराधसंहिताको बालविवाहसम्बन्धी कसूरमा उल्लेख छ।