५० वर्षमा ३ पटक शिलान्यास गरिएको सगरमाथा विमानस्थल निर्माणका लागि सधैं बजेट अभाव

गाईघाट– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उदयपुरको त्रियुगा नगरपालिका स्थित जोगिदहमा निर्माण गर्ने भनिएको सगरमाथा विमानस्थल निर्माणको सम्भावनालाई अन्त्य गरिदिएका छन्।

मन्त्रि पाण्डे २ पुसमा विमानस्थल निर्माणस्थलको अवलोकनमा आएका थिए। तर, आवश्यक बजेट सुनिश्चित नहुँदा निर्माण कार्य रोकिएको बताएर गए। मन्त्रिको यस्तो अभिब्यक्तिपछि विमान चढ्ने उदयपुरे नागरिकको आशामा तुसारापात भएको छ भने विमानस्थल वन्ने आशामा रहेका स्थानीय निराश छन्।

सगरमाथा विमानस्थल त्रियुगा नगरपालिका–१ र २ को जोगीदहमा प्रस्ताव गरिएको छ। प्रश्तावमा १ हजार ७५० मिटर लम्बाई र ३० मिटर चौडाईको रनवे, ४ वटा ट्याक्सी–वे, २ सय मिटर लम्बाई र ६० मिटर चौडाईको एप्रोनसहितको टर्मिनल भवन निर्माण गर्ने जनाईएको थियो। ह्याङ्गर र स्टाफ क्वाटरसहितको यो विमानस्थल निर्माणको लागत १ अर्ब ८० करोड अनुमान गरिएको थियो।

विमानस्थल निर्माणका लागि भन्दै १५६ दशमलव ११ हेक्टर सामुदायिक वनको जग्गा अधिग्रहण गरिएको छ। साढे १३ हजार वढि सालका रुख काटिएका छन्। कतिपय सालका गोलिया काठ विक्रि गरियो भने कतिपय काठ अहिले पनि बन क्षेत्रमै कुहाएर राखिएको छ।

तर, विमानस्थल निर्माणको काम भने अघि वढेको छैन। सगरमाथा विमानस्थल निर्माणको कुरा प्राय चुनाव ताका चर्चामा आउने गरेको छ। यसको प्रचार गरेर कांग्रेस नेता तथा उदयपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले निकै फाईदा उठाएका छन्।

खड्काले आफु शहरी विकास मन्त्री हुँदा ०७० सालमा बजेट वक्तव्यमार्फत यो विमानस्थल निर्माणको कुरा अगाडि बढाएका थिए। २४ माघ ०७८ मा वन तथा भू–संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच विमानस्थलको भौतिक पूर्वाधारहरू निर्माण गर्न वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने सम्झौता पनि भयो।

त्यसपछि राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक विमानस्थललाई राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरी काम अगाडि बढायो। ०७८ सालमै वातावरणीय प्रभाव मूल्यांकन गरिएपछि सामुदायिक वनका रूख काटियो। वन व्यवस्थापन गरेर विमानस्थलको निर्माण सुरु गर्न भन्दै नागरिक उड्डयन प्राधिकरणले करिव २ करोड ४७ लाख रुपैयाँ खर्च गरेको थियो।

यसरी सुरु भयो विमानस्थलको चर्चा
सगरमाथा विमानस्थलको कुरा ०३१ सालदेखि नै सुरु भएको हो। यो विमानस्थल निर्माणका लागि तीन ठाउँमा तीन पटक शिलान्यास गरिसकिएको छ।

तत्कालिन गृहराज्य मन्त्री नरसिंहभक्त तुलाचनले २०३१ सालमा पहिलो पटक गाईघाटमा बिमानस्थल निर्माणको शिलान्यास गरेका थिए। तर, शिलान्यास वाहेक थप काम हुन सकेको थिएन्। खास गरी शिलान्यास गरिएको त्रियुगा नगरपालिको तत्कालिन वडा नं २, ३ र ४ को जग्गा प्राविधिक हिसावले विमानस्थल बन्न अनुपयुक्त रहेको भन्दै प्राविधिक समितिले प्रतिवेदन दिएपछि काम रोकियो।

त्यसपछि त्यहाँको १४ विगाहा १६ कठ्ठा १६ धुर जग्गा विक्री गरी त्रियुगा नगरपालिका १० उत्तराईटोलमा ४३ विगाहा जग्गा खरीद गर्ने सहमति जुट्यो। तर, जग्गा विक्रीका लागि तत्कालिन स्थानीय विकास मन्त्रालयले सहमति दिएन। जग्गा विक्रि हुन नसकेपछि प्रस्तावित उत्तराईटोलमा जग्गा खरिद गर्ने बाटो पनि वन्द भयो। विमानस्थलको काम फेरी अलपत्र पर्यो।

उत्तराईटोलमा नहुने भएपछि जोगिदह क्षेत्रमा सामुदायिक वन समुहले १०५ बिगाह जग्गा बिमानस्थल निर्माणका लागि निःशुल्क उपलब्ध गराउने निर्णय गरे। त्यसपछि यो विमानस्थल निर्माणको पहल सुरु भएको थियो।

तर, यो विमानस्थलको काम भन्दा पनि चर्चा वढि हुने गरेको छ। सरकारमा हुनेहरुले कमाउनका लागि पनि सगरमाथा विमानस्थलको नाम दुरुपयोग गर्ने गरेका छन्। हुँदा हुँदा निर्माण नै नभएको यो विमानस्थललाई स्तरोन्नति गरिने भन्दै आव ०८०÷०८१ को बजेट वक्तव्यमा बजेट छुट्याउने काम समेत गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट