एसओएस बालग्राम इटहरीको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न
सुनसरीको इटहरीस्थित एसओएस बालग्रामको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सभाहलमा आइतबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
एसओएस बालग्राम इटहरीका निर्देशक देवचरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीताकुमारी चौधरीको प्रमुख उपस्थिति रहेको थियो । कार्यक्रममा बालबालिकासँग सम्बन्धित क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको समेत बाक्लो उपस्थिति थियो ।
एस सङ्कल्प नेपाल प्रालि, टोखा नगरपालिकाकी परामर्शदाता स्वस्तिका पोख्रेलले एसओएस बालग्राम इटहरीको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । परीक्षणका क्रममा उनले एसओएस बालग्राम इटहरीले बालबालिका, युवा तथा समुदायमा आधारित क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताएकी थिइन् । एसओएस बालग्रामले सन् २०२३ का लागि विभिन्न चार परियोजनाहरूमार्फत करीब १६ करोड ५० लाख बजेट विनियोजन गरेको थियो । जसमा १५ करोड चार लाख बराबर रकम खर्चिएको देखिन्छ । परिवारमा आधारित स्याहार (बालग्राम), एसओएस युवाग्राम (युवा विकास कार्यक्रम), एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरी तथा परिवार सुदृढीकरण कार्यक्रम सञ्चालनमा रहेका छन् । परिवारमा आधारित स्याहार (बालग्राम)का लागि सबैभन्दा बढी पाँच करोड ३४ लाख खर्च भएको छ भने सबैभन्दा कम परिवार सुदृढीकरण कार्यक्रममा करीब दुई करोड खर्च भएको देखिएको छ । युवाग्राम र एसओएस हर्मन माइनर माविले क्रमशः चार करोड ४१ लाख र तीन करोड ३६ लाख खर्च भएको देखिएको छ ।
सामाजिक परीक्षण प्रतिवेदनमा संस्थागत उपलब्धिका रूपमा दुई सय ९६ जना अभिभावकको संरक्षण गुमाएका बालबालिका तथा युवाहरूलाई गुणस्तरीय स्याहार, सुरक्षा तथा शिक्षा र सम्मान प्रदान गरेको, पाँचजना युवाहरू आत्मनिर्भर भएर समाजमा पुनःस्थापित भएका र पाँचजना युवाहरूलाई परिवारसँग पुनर्मिलन गराइएको । सन् २०२३ मा जीविकोपार्जन कार्यक्रममार्फत १७ परिवारको सबलीकरण हुनुका साथै २९ परिवारका ३० जना बालबालबालिका तथा युवाहरू सबलीकृत भएको पाइएको छ ।
त्यस्तै, एसओएस बालग्रामले कोशी प्रदेशमा परिवारमा आधारित संरक्षणलगायत बाल संरक्षणको विभिन्न नमुना कायक्रम सञ्चालन गरी आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल देखिएको छ । साथै प्रदेशकै उत्कृष्ट बालगृहको रूपमा स्थापित रहेको छ । विभिन्न उमेर समूहमा तेक्वान्दो प्रतियोगितामा पदकहरू जित्नुका साथै विभिन्न जातजाति र परिवेशका बालबालिका एकै पारिवारका सदस्यका रूपमा हुर्कने वातावरण उपलब्ध गराउनु उपलब्धिका रूपमा हेरिएको छ ।
प्रदेश सरकारसँगको सहकार्यमा विद्यालय भवनको निर्माण र कम्प्युटर इन्जिनियरिङ (कक्षा ९–१२) को प्राविधिक शिक्षाको सुरुवातसँगै प्रविधिमा आधारित शिक्षा तथा विद्यालयले वेबसाइट र सामाजिक सञ्जालमार्फत सूचनाको नियमितता समेटिएको छ । स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य र समन्वय गरिएका कुरालाई संस्थागत उपलब्धिका रूपमा समेटिएका छन् ।
प्रतिवेदनमा एसओएस बालग्रामले नेपालभर हालसम्म २४ हजार १६१ जनालाई प्रत्यक्ष हेरविचार तथा सहयोग गरेको छ । बालग्राम इटहरीमा मात्र एकसय तीन जना बालबालिकाले परिवारमा आधारित सुरक्षा तथा स्याहार पाइरहेका छन् । त्यस्तै युवालय विराटनगरमा ११३ जना युवाले सहायता पाई वृत्तिविकासको लक्ष्यमा लागिरहेका छन् । बालग्राम इटहरीले हालसम्म ५८४ जनालाई परिवार सबलीकरण परियोजनामार्फत सहयोग गरेको छ । संस्थाका चारैवटा परियोजनाअन्तर्गत जम्मा १०३ जना कर्मचारीमार्फत आफ्ना कार्यक्रम अगाडि बढाउँदै आइरहेको प्रतिवेदनमा उल्लेख छ ।
सामाजिक परीक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता चौधरीले आफूले स्थापनाकालदेखि नै एसओएस बालग्रामलाई नजीकबाट नियालिरहेको बताइन् । स्थानीय सरकारका तर्फबाट यस्तो परोपकारी सामाजिक संस्थालाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै संस्थाको उन्नतिप्रगतिका लागि शुभकामना दिइन् ।
एसओएस बालग्राम नेपालका शिक्षा तथा युवा विकास निर्देशक राजेन्द्रकुमार श्रेष्ठले संस्थामा दातृनिकाय तथा व्यक्तिको कमी हुँदै गएकोमा चिन्ता बढ्दै जानु स्वाभाविक भएको बताएका छन् । दातृनिकायको अभाव हुन थालेको परिप्रेक्ष्यलाई स्पष्ट पार्दै श्रेष्ठले भने, ‘एसओएस बालग्रामप्रतिको बुझाइलाई परिवर्तन गर्दै संस्थाले सुरक्षा तथा स्याहारको आवश्यकता परेका बालबालिकालाई उनीहरूकै घरपायक ठाउँमा सेवा दिन सुरु गरिएको छ । यसबाट बालग्राममा बालबालिकाका लागि ठाउँ पुग्दैन कि भन्ने शङ्का र समस्याको समाधान भएको छ । परिवार वा आफन्तकै संरक्षणमा संस्थाले आर्थिक सहायता गरी हेरचाह गर्दै आएको छ । बालग्रामबाट समुदायमा पुनः स्थापित हुने युवालाई विभिन्न रोजगारमूलक संस्था तथा कम्पनीमार्फत वृत्तिविकासका लागि सहकार्य पनि भइरहेको छ । वैदेशिक रोजगारीका लागि जाने युवाहरूका लागि पनि विभिन्न देशका विश्वविद्यालयसँग छात्रवृत्ति वा न्यून शुल्कका लागि सहकार्य भइरहेकोको छ । संस्थागत परियोजनाहरू सञ्चालनका लागि दातृनिकाय तथा सरकारसँग समन्वय गरिरहेका छौँ । आर्थिक चुनौतीलाई मध्यनजगर गर्दै सोहीअनुरूप नीति तथा कार्यकमहरू बनाउँदै लगेका छौँ ।’
इटहरी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख रमेशकुमार साहले आफू इटहरीमा एसओएस बालग्रामका गतिविधिहरूबारे जानकार रहेको भन्दै प्रशंसा गरेका थिए । प्रदेश बालअधिकार समितिका सचिव तथा सिविन नेपाल प्रमुख वाशु अधिकारीले एसओएस बालग्राम बालबालिकाका क्षेत्रमा काम गर्ने नेपालकै उत्कृष्ट र अग्रणी संस्था रहेको बताए । कोभिड–१९ पछि चन्दा तथा दानबाट सञ्चालित सबै खालका संस्था जोखिममा रहेकाले नेपाल सरकारले यिनीहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिए । बालबालिकाका सुरक्षा तथा वृत्तिविकासका लागि आफू बालग्रामसँग सहकार्य गरिरहेको पनि बताए ।
राष्ट्रिय बालअधिकार परिषद्का कोशी प्रदेश प्रमुख सुमन अधिकारीले धेरै बालगृहले बालबालिकासम्बन्धी ऐन २०७५ तथा नियमावली २०७८ ले व्यवस्था गरेबमोजिम काम नगरेकाले कतिपय यस क्षेत्रमा काम गर्न खुलेका संस्था नै बन्द हुनुपरेकोमा चिन्ता व्यक्त गरे । एसओएस बालग्राम इटहरीले कोशी प्रदेशभित्र रहेका सबै बालगृहका लागि सुझाव तथा सल्लाह दिन समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । हाल कोशी प्रदेशभित्र १८ वटा बालगृहहरू सञ्चालनमा रहेका छन् । सामाजिक परीक्षणलगायत सामान्य प्रक्रिया नै पूरा नगरी आफूकहाँ बालगृह सञ्चालनको अनुमति लिन आउनेहरूलाई बालगृह सञ्चालनसम्बन्धी मापदण्ड अध्ययन गर्न पनि उनले सुझाव दिएका छन् ।
इटहरीकी बालकल्याण अधिकारी सङ्गीता पोख्रेलले बालबालिकाको क्षेत्रमा काम गर्ने अग्रणी संस्था एसओएस बालग्राम इटहरीमा हुनु इटहरीका बासिन्दाका लागि गौरवको कुरा भएकाले यस संस्थाको उन्नयनका लागि सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिइन् । नागरिक समाज इटहरीकी सचिव लक्ष्मी मादेनले एसओएस बालग्राममा आफू पनि सहयोग गर्न तयार रहेको भन्दै सबैले सहयोग गरी यसको उद्देश्यअनुरूप समाजमा काम गर्नुपर्ने बताइन् ।
कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय विद्यालयका प्रधानाध्यापक तथा बाल सञ्जालका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए ।
सार्वजनिक परीक्षण प्रतिवेदनका दौरान उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै एसओएस बालग्राम इटहरीका निर्देशक देवचरण चौधरीले एसओएस स्थानीय जनसमुदायदेखि नेपाल सरकारसम्मको सहयोगमा सञ्चालित संस्था रहेको बताए । उनले भने, ‘यस संस्थाका सबै परियोजनामा हाम्रा सरोकारवाला निकायदेखि जनसमुदायको पनि ठूलो सहयोग रहेको छ । संस्थागत रूपमा आश्रित बालबालिकाको वृत्तिविकासका लागि नागरिकतासम्बन्धी प्रावधान झन्झटिलो रहेकाले समस्या परिरहेको छ । नागरिकतासम्बन्धी विधेयक रोकिएका कारण केही युवाहरू नागरिकता प्राप्तिबाट वञ्चित हुनुपरेको छ । यद्यपि हामी विभिन्न सरोकारवालाहरूसँग यसको समाधानका प्रयास गरिरहेका छौँ । संस्थागत अभिभावकत्वबाट हुर्किएका बालबालिकाका लागि नेपाल सरकारको नागरिकतासम्बन्धी नीति स्पष्ट हुनु जरुरी छ ।’
सन् १९७० मा नेपालमा एसओएस बालग्रामस्थापित भई विभिन्न दशवटा परियोजनामार्फ काम गरिरहेको सामाजिक परोपकारी संस्था हो । हाल संसारभर १३६ वटा देशमा बालबालिका तथा युवा लक्षित कार्यक्रमहरूमार्फत यसले प्रत्यक्ष सहयोग पुर्याइरहेको छ । नेपालमा दशवटा एसओएस बालग्रामसहित सातवटा हर्मन माइनर विद्यालय सञ्चालनमा छन् । इटहरीमा एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरी सञ्चालनमा छ, जहाँ बालग्रामका आश्रित तथा समुदायका गरी करीब ६२४ जना बालबालिका अध्ययनरत छन् ।