कागेश्वरीमा गोली चल्योः गोली लागेर २ जना र कुटपिटबाट एक जना घाईते
काठमाडौँ– काठमाडौंको कागेश्वरीमा गोली चलेको छ। कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित रिद्धिसिद्धि बसपार्क नजिकै गोली चलेको हो।
प्रहरीका अनुसार गएराति साढे १० बजे अर्जुन श्रेष्ठको घरभित्र गोली चल्दा दुई जना घाइते भएका छन्। खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ का ३७ वर्षीय साहिर शंकर नामका व्यक्तिले घरभित्र पसेर पेस्तोलबाट गोली प्रहार गरेका जनाईएको छ।
घट्नामा घरधनी अर्जुन र उनकी श्रीमती शान्ति देवी श्रेष्ठ घाइते भएका छन्। उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। गोली लागेर घाइते भएका श्रेष्ठदम्पतीको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानमा आबद्ध एक प्रहरीका अनुसार श्रीमतीलाई गोली लागेको र श्रीमानलाई भने गोलीको छर्रा लागेको छ।
गोली चलाउने युवकलाई पनि स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरेका छन्। कुटपिटका कारण घाईते भएका उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसिइबीका कारण घट्ना भएको देखिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेका अनुसार घट्नाको थप अनुसन्धान भइरहेको छ।