प्रहरीका भान्सेको हत्या प्रकरणमा अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ
जनकपुर– बारामा प्रहरी कर्मचारी (भान्से) राजकुमार रुम्बाको हत्या प्रकरण अनुशन्धानका क्रममा राष्ट्रिय अनुशन्धान विभागका निर्देशक (इन्स्पेक्टर) श्रीकान्त तिवारीसहित ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्ने अन्य दुई जनाको पहिचान प्रहरीले खुलाएको छैन। उनीहरुका विषयमा अनुशन्धान जारी नै रहेको भन्दै प्रहरीले नाम खुलाउन चाहेको छैन। यद्यपी, दुवै जना इनर्वा सिमराकै रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जना पक्राउ परेका तीनै जना बारा प्रहरीको हिरासतमा छन्।
प्रहरीको विशेष टोलीले तीनै जनासँग गरेको सोधपुछ र बयान तथा घटनासँग सम्बन्धित सबुत प्रमाण फेला परेपछि घटना अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको प्रहरीको दाबी छ। बाराका एसपी महेन्द्र खडकाले करिव एक सातामै हत्याका दोषी लगभग पहिचान गरिएको बताए।
व्यक्तिगत रिसिइबी तथा आर्थिक लाभका कारण रुम्बाको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
गत शनिबार बारामा प्रहरीका भान्से रुम्बालाई गोली हानी हत्या गरिएको थियो। जितपुर सिमरा उपमहानगरपालिका–११ मा सडकमा रोकिराखेको बागमती प्रदेशको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र उनको शव फेला परेको थियो।
उक्त कार राष्ट्रिय अनुशन्धान विभागका निर्देशक तिवारीको हो। इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका रुम्बा हाल सिमरा एयरपोर्टमा कार्यरत थिए। भने तिवारी पनि विगत एक वर्षदेखि एयरपोर्टमै कार्यरत रहेको प्रहरीले जनाएको छ।