बैंकको बदमासीः किस्ता तिरिरहेको ‘ऋणको धितो’ प्रकृया मिचेर लिलाम, ८ घण्टा कर्मचारी थुनेपछि फिर्ता गर्ने सहमति

लहान– प्रकृया मिचेर लिलाम गरेको जग्गा फिर्ता गर्ने सहमतिपछि सिरहाको लहानमा रहेको कृषि विकास बैंकमा लागेको ताला खुलेको छ। लहान नगरपालिका–२ का ऋणी रामचन्द्र यादवले विहिबार कर्मचारीलाई भित्रै थुनेर बैंकमा तालाबन्दी गरेका थिए।

तालावन्दीपछि प्रदर्शन समेत भएको थियो। पछि बार्ता मार्फत ‘लिलाम भएका जग्गा तत्कालै बैंकले मालपोतलाई पत्राचार गरी रोक्का गर्ने र कानुनी प्रक्रिया मिलाएर जग्गा फिर्ता गरी धनीको नाममा कायम गर्ने’ सहमति भएपछि ८ घण्टापछि साँझमा तालबन्दी खुलेको हो। तालावन्दीका कारण कर्मचारीहरू दिनभरि भित्रै थुनिएका थिए।

ऋणी यादवले पूर्व–पश्चिम राजमार्गमा टाँसिएकै सवा ७ धुर जग्गा धितो राखि १५ फागुन ०७७ मा ३० लाख रुपैयाँ ओडी ऋण लिएका थिए। उनले मंसिर महिनाको पनि किस्ता तिरेको बताएका छन्। ब्याज सावाँ गरी हालसम्म १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसक्दा पनि जग्गा लिलाम हुँदा अन्यायमा परेको यादवको भनाई छ।

समयमा किस्ता बुझाइरहँदा पनि करिव १ करोड ४५ लाखमा बिक्री हुने जग्गा ३५ लाखमै लिलाम गरिदिएको यादवले सुनाए। ‘गाउँको १० कठ्ठा जग्गा बेचेर बजारमा जग्गा किनि घर बनाएँ। त्यो बैँकले लिलाम गर्दा बेघर हुने अवस्थामा आयो।’– उनले भने।

उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास शारदाले पनि बैंकले प्रक्रिया मिचेर धितो लिलाम गरेको देखिएको वताए। ‘जग्गा धितो लिलाम गर्दा पञ्चीकृत गर्नुपर्छ, त्यो गरिएको छैन। पञ्चीकृत गर्दा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जग्गाधनी, भ्यालुऐटर र बैंकका प्रतिनिधि हुन्छन। स्थलगत अवलोकन गरी चलनचल्तीको भाउ पत्ता लगाएर लिलाम हुन्छ’ उनले भने–‘तर, त्यो सवै प्रकृया मिचेर जग्गा लिलाम गरेको देखिन्छ।’

बैँकले ऋण स्वीकृत गर्ने बेलामा जग्गाको मूल्याकंन ८० लाख गरेर ३५ लाख ऋण स्वीकृत गरेका थिए। तर, ४ वर्षपछि जग्गाको भाउ बढ्नुको साटो घटाएर ६५ लाख मूल्याकंन गरी ३५ लाखमै लिलामी गरेको स्रोतले जनाएको छ। ऋण दिलाइदिने बिचौलिया र कर्मचारीको मिलोमतोमा सस्तो लिलाम भएको वार्ता समिति सदस्यहरूको भनाइ छ। सुनसरी भोक्राहा–३ की ताराकुमारी रौनियारले लिलामी स्वीकार गरेको देखिएको छ। ३ पुसमा उनको नाममा जग्गा नामसारी भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट