शुक्रबार र शनिवार देशका अधिकांश ठाउँमा पानी पर्ने, कहाँ कस्तो छ वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले आज विशेष सूचना जारी गर्दै शुक्रबार दिउँसोबाट शनिबारसम्म अधिकांश भागमा पानी पर्ने सम्भावना बढेको जनाएको छ।
शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको विशेष सूचनामा उल्लेख छ।