श्रीमती वेचेको कसुरमा जेल परेका धमला भुकम्पमा जेल भत्किँदा फरार, ९२ लाख नगदसहित १० वर्षपछि पक्राउ

काठमाडौँ– ०७२ सालको भुकम्पका बेला सिन्धुलाल्चोकस्थित चौतारा कारागारबाट भागेका रवि धमला झण्डै १० वर्षपछि अर्को कसुरमा पक्राउ परेका छन्।

काठमाडौँका दुई फरक ठाउँबाट मंगलबार राति ९२ लाख रुपैयाँ नगदसहित पक्राउ परेका तीन जना मध्ये धमला पनि एक हुन। पक्राउ परेपछि क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गर्दा सिन्धुपाल्चोकको इन्द्रावती–७ घर भएका धमला श्रीमती बेचेको कसुरमा जेल चलान भएको र त्यहाँबाट भागेको खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको लोलाङ र जोरपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो। तीन जनामध्ये पैसाको मुख्य हर्ताकर्ता धमला नै रहेको खुलेको छ। उनीसँगै रसुवाको उत्तरगंगा घर भएका जितबहादुर तामाङ र सङ्खुवासभा घर भएका सन्तोष खातीपनि पक्राउ परेका छन्।

तामाङ र धमलाको साथबाट ७७ लाख र खातीबाट १५ लाख गरी प्रहरीले ९२ लाख रुपैयाँ बरामद गरेको छ। प्रहरीले भेट्दा धमला र तामाङ स्कुटरमा हिटरको कार्टुन बोकेर हिँड्दै थिए। प्रहरीसँग उनीहरुले अवैध रकमको कारोबार गरिरहेको सूचना थियो। हिटरको कार्टुन खोलेर हेर्दा नगद भेटिएको थियो।

धमला र तामाङ पक्राउ परेपछि प्रहरीले नियन्त्रणमा लिएको उनीहरुकै मोवाईलमा ‘१५ लाख तयार छ। रकम लिन आउनु’ भन्दै फोन आएको थियो। सोही फोनका आधारमा खाती पक्राउ परेका हुन। बरादम भएको रकम तस्करीको हुन सक्ने प्रहरीले आशंका छ।

धमलाले काठमाडौँको बौद्धमा २ वटा सुन पसल सञ्चालन गरेको भेटिएको छ। रसुवाको केरुङमा पनि उनले चिनियाँको नाममा सुन पसल सञ्चालन गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्। रकम सङ्कलन गर्नुअघि उनीहरूको बिचमा विच्याटमा कुराकानी भएको भेटिएको छ।

धमला यसअघि श्रीमती बेचेको कसुरमा जेल परेका थिए। माइतीपक्षले उनीविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले २०७१ मा पक्राउ गरेर मानव वेचविखनको मुद्दा चलाएको थियो। त्यसपछि उनी कारागार चलान भएका थिए।

सिन्धुपाल्चोकस्थित चौतारा कारागारमा रहेका बेला १२ वैशाख ०७२ को भूकम्पले कारागार भत्काएपछि उनी फरार भएको खुलेको छ। बाँकी कैद भुक्तान गरे÷नगरेको भन्नेबारे खुलिसकेको छैन। यद्यपि धमलाले भने पुनः कैद बसेको दाबी प्रहरी समक्ष गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट