लहानस्थित कृषि विकास बैंकको शाखामा कर्मचारीलाई भित्रै थुनेर ऋणीले लगाई दिए ताला
लहान– सिरहाको लहान स्थित कृषि विकास बैंकको शाखा कार्यालयमा ऋणीले नै ताला लगाई दिएका छन्। बैंकले गलत प्रक्रियाबाट धितो राखेको जग्गा लिलाम गरेको भन्दै बैंकको कार्यालयमा तालाबन्दी गरिएको हो।
तालाबन्दी गरि स्थानीयहरू बैंक परिसरमा नाराबाजी गरिरहेका छन्। कर्मचारीहरू भित्रै थुनिएका छन्। प्रहरीले बाहिर सुरक्षा दिइरहेको छ। उनीहरूले जग्गा फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
लहान नगरपालिका–२ का रामचन्द्र यादवका अनुसार उनले ०७७ फागुनमा पूर्व–पश्चिम राजमार्गमा टाँसिएको ७ धुर जग्गा धितो राखेर ३० लाख रुपैयाँ ऋण लिएका थिए। उनले लगातार किस्ता बुझाउँदै आएका छन्। उनको भनाई अनुसार मंसिर महिनासम्मको किस्ता बुझाईएको छ।
तर, पनि बैंकले जग्गा लिलामको सूचना निकालेको उनको भनाई छ। ‘सावाँब्याज गरी हालसम्म १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसकें’ उनले भने–‘त्यसपछि पनि बैंकले जग्गा लिलाम गरिदियो। यो भन्दा अन्याय अरु के हुन्छ ?’
२९ कार्तिक ०८१ मा आफुलाई बैंकका कर्मचारीले जग्गा लिलाम गरिदिने धम्की दिएको उनको भनाई छ। ‘त्यसपछि नत लिलामी प्रक्रियाको बारेमा जानकारी दिए, नत कारण नै बताए’– उनले भने। आफुलाई सवै कुरा नवताई र आधिकारिक जानकारी नै नदिई करिव डेढ करोडको जग्गा ३५ लाखमै लिलाम गरिदिएको यादवको गुनासो छ।
बैंकका शाखा प्रबन्धक विवेक पौडेलले भने आफु आउनु भन्दा अगाडि जग्गा लिलाम भएको जानकारी दिएका छन्।