भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, घाईते ९ मध्ये ३ जनालाई हेलिकप्टरबाट काठमाडौँ लगियो
विराटनगर– भोजपुरमा स्थानीय टेम्केडाँडा भ्रमणमा जाँदै गरेका यात्रु सवार स्कर्पिओ भिरबाट खसेर दुर्घटना हुँदा झापाको गौरादहका एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्। ती मध्ये ३ जनाको अवस्था गम्भिर छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका–५ बोखिमको डाडाँटोल भन्ने ठाउँको भित्री सडक खण्डमा आज बिहान साढे ८ बजे प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कार्पिओ सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठले जानकारी दिए। दुर्घटनामा स्कार्पिओ चालक सुनसरीको धरान– ८ का सुदीप लिम्बू र एक बालकसहित ९ जना घाइते भएका छन्।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ। उनिहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाएको श्रेष्ठले बताए। भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ कि इहायाराना सुब्बालाई थप उपचारका लागि काठमाडौँ पठाएको उनले जानकारी दिए।
अन्य घाइतेको अहिलेसम्म भोजपुर जिल्ला अस्पतालमै उपचार भइरहेको छ। त्यसमध्ये बढी चोट लागेका केहीलाई धरान ल्याउने तयारी छ। स्कार्पिओ चालक उपचारपछि डिस्चार्ज भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ।