धनुषामा रक्सीको नशामा श्रीमतीको हत्या, खाल्टो खनेर शव गाडेपछि श्रीमान पक्राउ
जनकपुर– धनुषाको मिथिला नगरपालिका–३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या भएको छ। उनको शव खाल्टो खनेर गाडेको अवस्थामा बुधबार साँझामा फेला परेको छ।
आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा रेशमीको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ। इन्स्पेक्टर सोनु साहका अनुसार रेशमीको हत्या उनकै श्रीमानले गरेको खुलेको छ।
दशैले घरायसी बिबादमा श्रीमतीको हत्या भएको स्विकारेका छन्। उनकै बयानका आधारमा रेशमीको शव फेला परेको हो। रेशमीकी बुहारीले प्रहरीलाई दिएको बयान अनुसार मदिराको नशामा रहेका दशैया र रेशमीको दिउँसो १२ बजेसम्म झगडा भइरहेको थियो।
साँझपख दशैयाले बुहारीसँग खाना मागे। त्यसपछि उनले सासुको विषयमा चासो राखेकी थिईन। उनको प्रश्नमा दशैयाले अमकाएर जवाफ दिएका थिए। शंकास्पद जवाफ दिएपछि परिवारका सदस्यले नै प्रहरीलाई बोलाएका थिए।
प्रहरीले सोधपुछ गरेर्दा हत्या गरेर शव शौचालयको पछाडि गाडेको दशैयाले बताएका थिए। प्रहरीले राती नै शव उत्खनन गरी मुचुल्का गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ।
दशैया पक्राउ परेका छन्।