मधेशको मुख्यमन्त्री कार्यालयमा हाजिर भएको भोलिपल्टै किन राजिनामा दिएर हिँडे सहसचिव गौतम ?

जनकपुर– मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएर आएका सहसचिव दामोदर गौतम हाजिर भएको भोलिपल्ट नै राजीनामा ठोकेर काठमाडौँ फर्किएका छन्।

गौतम ४ पुसमा मुख्यमन्त्री कार्यालयमा हाजिर भएका थिए। त्यसको भोलिपल्ट ५ पुसमा प्रमुख सचिव लोकनाथ पौडेललाई हस्तलिखित राजीनामा पत्र बुझाएर गौतम फिर्ता भएका हुन। केन्द्र सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको राष्ट्रिय अभिलेखालयबाट सरुवा भएर आएका गौतमको राजीनामा मुख्यमन्त्री कार्यालयमै छ। राजीनामा स्वीकृत भएको छैन।

गौतमले राजीनाको कारण स्वास्थ्य प्रतिकुलता जनाएका छन्। गत आइतबार बसेको मधेश मन्त्रिपरिषद बैठकले सहसचिव गौतमको पदस्थापन मधेश प्रदेश लोकसेवा आयोग कार्यालय सचिवको रुपमा गरेको छ। तर, गौतम पदस्थापन भएको कार्यालयमा हाजिर भएका छैनन्।

स्रोतका अनुसार पदस्थापनको विषयमा प्रमुख सचिव पौडेल र गौतमको विवाद भएको थियो। मुख्यमन्त्री कार्यालय स्रोतले पनि प्रमुख सचिवको व्यवहारले आत्मसम्मानमा ठेस पुगेपछि उनले राजीनामा दिएको हुनसक्ने जनाएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले भने गौतमको माग अनुसार नै प्रदेश लोकसेवा आयोगको सचिवमा पदस्थापन गरिएको वताए।

सहसचिव गौतमले भने प्रतिक्रिया दिन मानेनन्। उनले यस विषयमा ‘काठमाडौंबाट फर्किएपछि मात्र कुरा गर्ने’ भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट