बुबा र भाईको हत्या गरेर भागेका मिलनले प्रहरी कार्यालय पुगेर पत्रिकामा समाचार देखाउँदै भने ‘यो मै हो’
काठमाडौँ– भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरेको स्विकार्दै आत्मसमर्पण गरेका खोटाङका २६ वर्षीय मिलन आचार्यले गएको दशैंमै बुवा र आमाको हत्या प्रयास गरेको खुलेको छ।
दसैंमा दुवैलाई मार्ने योजना बनाए पनि वातावरण नमिलेको उनले प्रहरी समक्ष वयान दिएका छन्। बुवा र भाइको हत्यापछि आफूले पनि आत्महत्या गर्न खोजेको पनि उनले बताएका छ। गलवन्दीको पासो लगाएर झुण्डिएको तर गाँठो फुस्किएर बाँचेको उनको भनाई छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का मिलनको घाँटीमा पासोको चोट रहेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ। ‘भक्तपुरको बिरुवा भन्ने ठाउँमा गएर रुखमा झुण्डिएको तर सल चुँडिएको बयान दिएका छन्। उनको घाँटीमा पनि चोट लागेको देखिन्छ। हामी यसलाई थप पुष्टि गर्ने प्रयासमा छौँ’, अनुसन्धान अधिकारीले भने।
उनले बुबा ५६ वर्षीय कुलप्रसाद आचार्य र भाई २२ वर्षका प्रवीण आचार्यको बालकोटको कोठामा लोहोरो र डमबेलले हानेर हत्या गरेका थिए। उनले आज विहान महाराजगञ्ज प्रहरी वृत्तमा आत्मसमर्पण गरेका थिए।
मिलनको बयान यस्तो छः
लोकसेवामा ६, ७ पटक फेल भएपछि म जिन्दगीसँग दिक्दार भएँ। मलाई डिप्रेसन भयो। लगालग लोकसेवा बिग्रेपछि अब जिन्दगीमा केही नहुने भयो भनेर बिरक्तिएँ। म बाच्दिनँ भन्ने लाग्यो।
बुबा पनि डिप्रेसनको बिरामी। एकचोटि आत्महत्या प्रयास गर्नुभएको थियो। म नबाँचेपछि परिवारका अरु कसरी बाँच्लान् भन्ने लाग्यो। त्यसैले मभन्दा पहिला बुबाआमा मर्नुपर्छ भन्ने ठानेँ। दशैंमा गाउँ गएको बेला मार्ने प्रयास गरेको थिएँ। तर वातावरण मिलेन।
अहिले बुवा उपचार गर्न आएको बेला ‘उपयुक्त’ मौका छोपेँ। हामी सबैले न्याय र मुक्ति पाउने भयौं भन्ने लागेर बुवा र भाइलाई मारेँ। हत्यापछि म भक्तपुरकै बिरुवा गएँ । गलबन्दीको पासो लगाएर रुखमा झुण्डिएँ। तर गलबन्दीको गाँठो फुस्कियो। भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो। बुवा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ।
त्यहाँबाट म भक्तपुर दरबार स्क्वायर गएर दिनभरि बसेँ। साँझ परेपछि चावहिलको सगरमाथा होटलमा कोठा लिएर बसेँ। त्यहाँ दुई रात बसेपछि आज बिहान पत्रिकामा समाचार देखेँ। त्यो पत्रिका बोकेर कोटेश्वरतिर गएँ। तर, त्यहाँ पुग्दा गल्ती ठाउँमा पुग्दैछु जस्तो लागेर गाडीबाट ओर्लिएँ। महाराजगञ्जको गाडी चढेँ। महाराजगञ्जको पुलिस अफिसको सरलाई पत्रिका देखाएर ‘यो मै हो’ भनेँ।
यो पनि,
- लोकसेवा पास गर्न नसकेको तनावले बुबा र भाईको हत्या, परिवारै सक्ने योजनामा थिए मिलन
- बालकोटमा खोटाङका बाबुछोराको मृत्यु प्रकरणः विहान ३ बजे नै कोठाबाट निस्किएका थिए जेठा छोरा
- बालकोटमा सँगै सुतेका ३ बाबुछोरा मध्ये २ जनाको हत्या, जेठा छोरा सम्पर्क विहिन
- बालकोटमा खोटाङको रूपाकोट मझुवागढीका आचार्य बाबुछोरा मृत फेला, हत्याको आशंका