बालकोटमा खोटाङका बाबुछोराको मृत्यु प्रकरणः विहान ३ बजे नै कोठाबाट निस्किएका थिए जेठा छोरा
काठमाडौँ– भक्तपुरमा जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख कुलप्रसाद आचार्यका बाबुछोराको हत्या प्रकरण गम्भिर मोडमा पुगेको छ। उनीहरुको हत्या कुलप्रसादकै जेठा छोरा मिलनले गरेको हुन सक्ने आशंकासहित प्रहरीले अनुशन्धान अघि वढाएको छ।
खोटाङको रूपाकोट मझुवागढी नगरपालिका– १ घर भएका ५६ वर्षीय कुलप्रसाद र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण सूर्यविनायक नगरपालिका–२, बालकोटको फिकाधारटोलस्थित डेरामा सोमबार विहान मृत अवस्थामा भेटिएका हुन्। बाहिरबाट ताला लागेको घरमा एउटा कोठामा बाबु र अर्को कोठामा छोराको शव भेटिएको थियो।
शनिबार सँगै खाना खाएर सुतेका जेठा छोरा मिलनको अवस्था अझै अज्ञात छ। प्रहरीका अनुसार उनको मोबाइल आइतबारदेखि स्विच अफ छ। अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार उनी आइतबार बिहान करिब तीन बजे डेराबाट निस्किएको खुलेको छ। उनले नै कोठामा ताला लगाएर निस्किएको हुनसक्ने प्रहरीको आँकलन छ।
मृतक आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख हुन्। कार्यालयकै कामले ५ दिनअघि काठमाडौं आएका उनी छोराको डेरामा बसेका थिए। शनिबार बेलुका तीनैजना डेरामा रहेको सो घरमा बस्ने अन्यले बताएका छन्।
आईतबार बिहानदेखि कोठा बाहिरबाट बन्द थियो। सोमबारसम्म पनि ढोका नखुलेपछि प्रहरी बोलाएर खोल्दा दुईजनाको शव भेटिएको हो। जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार छोराको शव किचन बनाएको कोठाको खाटमा र बुबाको अर्काे कोठामा भेटिएको हो।
कोठमा भेटिएको सिलौटो र डम्बेलमा रौंहरू र रगत लागेको छ। किचनको सिलौटोमा कपाल र रगत छ। बाबुछोरा दुवैका कानको तल्लो भागमा चोट छ। घटनास्थलको अवस्थाका आधारमा हत्या नै भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन्।
आफन्तले परिवारलाई बताएअनुसार जेठा छोरा मिलन स्नातकसम्मको पढाइ पूरा गरी लोक सेवा आयोगको तयारीमा थिए। कान्छा छोरा प्रवीण भिएस निकेतन कलेजमा बिएस्सी दोस्रो तहमा अध्ययनरत थिए।
नायब सुब्बा तहका कुलप्रसादले छोराहरूलाई पढाउन ३ वर्षअघिदेखि भक्तपुरमा राखेका थिए।
यो पनि,