ऋणीको खाताबाट डेढ करोडभन्दा वढि रकम बेपत्ता पारेको आरोपमा बैंकका तत्कालिन म्यानेजर पक्राउ

लहान — नविल बैंकको जनकपुरस्थित भानु चोक शाखाका तत्कालीन शाखा प्रमुख किशोर साहलाई सिरहा प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ। सिरहाको मिर्चैयास्थित तत्कालीन नेपाल बंगलादेश बैंकको शाखा प्रमुख हुँदा ऋणको रकम ठगी गरेको आरोपमा साह पक्राउ परेका हुन।

किशोरलाई शुक्रबार बेलुका धनुषा प्रहरीको सहयोगमा बैंकबाटै पक्राउ गरेर मिर्चैया ल्याइएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए। डीएसपी बाखुका अनुसार उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात शीर्षकको मुद्दा उच्च अदालत, राजविराज इजलासबाट परमादेश भएर आएको छ।

उनी सिरहामा छँदा १ करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोप छ। गोलबजारको सीता फुड एण्ड बेभरेजकी सञ्चालिका गोलबजार नगरपालिका–४ की सोमिन्द्राकुमारी साहले उनी विरुद्ध जाहेरी दिएकी थिईन। ०७८ सालमा सो बैंकबाट ऋण लिएको १ करोड ६० लाख रुपैयाँ आफूले खाताबाट झिक्नु अगावै साहले विभिन्न व्यक्तिको नाममा फर्जी चेकमार्फत झिकेको जाहेरीमा दाबी गरेकी छिन् ।

नेपाल बंगलादेश बैंक र नविल बैंक मर्ज भएपछि केही समय मिर्चैयास्थित नविल बैंकमा शाखा प्रमुखका रूपमा काम गरेका साह पछिल्लो समय जनकपुरस्थित शाखा प्रमुखका रूपमा काम गर्दै आएका थिए। अहिले उनले आफ्नो पदबाट राजीनामा बुझाइसकेको जनाईएको छ।

नविल बैंकका केन्द्रीय प्रवक्ता सुरेश त्रिपाठीले साहले केही समयअगाडि नै राजिनामा दिएको बताए। साहलाई आइतबार जिल्ला अदालत, सिरहामा उपस्थित गराई अनुशन्धानका लागि ५ दिनको म्याद लिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट