हत्यामा संलग्न भएका अभियुक्तलाई नजोगाएको भन्दै प्रदेश सांसद र उनको परीवारका सदस्यमाथि कुटपिट

लहान– मधेश प्रदेशकी सांसद सहिदा खातुनसहित नौजनामाथि सोमबार बिहान सिराहाको गोलबजार नगरपालिका–१३, दुर्गापुरमा कुटपिट भएको छ। हत्याका फरार अभियुक्तलाई जोगाउन भूमिका नखेलेको भन्दै सांसद सहितलाई कुटपिट गरिएको हो।

साहिदा सिरहाकै गोलबजार नगरपालिका–१३, दुर्गापुरकी स्थानीयवासी हुन। प्रहरी प्रहरीका अनुसार सांसद खातुन, उनका श्रीमान् मोहम्मद हकिम, छोरी सलमा खातुन, धनुषा सबैला नगरपालिका–१०, खरियानी घर भएका उनका दाजु रहिम मोहम्मद, स्थानीय रुक्साना खातुन, खैरहुन खातुन, रहना खातुन माथि कुटपिट भएको हो।

कुटपिटबाट उनीहरु घाइते भएका छन्। उनीहरुको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ। उनका दाजु रहिमलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। सिराहा प्रहरीका डीएसपी वीरेन्द्रकुमार पासवानले पक्राउ परेकाहरुको नाम खुलाउन चाहेनन्।

प्रहरीले गत दसैँको दुर्गा पूजा मेला हेर्न गएका वेला स्थानीय कृष्ण महराको हत्यामा संलग्न भएको आरोपमा जमसेद मोहम्मदलाई पक्राउ गरेको थियो। उक्त घटनामा स्थानीय कासिम मोहम्मदको नामसमेत जोडिएको थियो।

सोही विषयमा कुरा गर्न कासिमका बुबा नथुनी मिया सांसद खातुनलाई भेट्न गएका थिए। कुराकानीको क्रममा सांसद खातुनले कानुनी प्रक्रियामा गइसकेको विषयमा आफूले केही गर्न नसक्ने बताएपछि कुटपिट भएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट