दोस्रो पटक सांसदबाट निलम्बनमा परे रवि लामिछाने, निकोलश भुसाल रिहा

काठमाडौंँ– संसद सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछालाई सांसद पदबाट निलम्बित गरेको छ। सचिवालयले सोमबार सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले हिजो लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा जिल्ला अदालत कास्कीमा दायर गरेपछि उनको निलम्बनमा परेको हो।

संविधानको धारा १०३ मा प्रतिनिधि सभाका कुनै सदस्य फौजदारी अभियोगमा पक्राउ परे सभामुखलाई तत्काल जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप आइतबार नै कास्की प्रहरीले संसद् सचिवालयलाई पत्र लेख्दै मुद्दा दर्ता भएको जानकारी गराएको थियो।

उक्त पत्र प्राप्त भएपछि संसद सचिवालयले लामिछाने संसदबाट निलम्वन भएको सूचना जारी गरेको हो। लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। लामिछानेको सांसद पद निलम्बनमा परेको यो दोस्रो पटक हो। यसअघि नागरिक्ता प्रकरणमा पनि उनको पद निलम्बनमा परेको थियो।

सोमबार संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ– ‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ।’

लामिछाने गत २ कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए। त्यसको जानकारी जिल्ला प्रहरी कार्यालयले त्यसबेलै गरेको थियो। जानकारी पाएपछि संघीय संसद् सचिवालयले लामिछाने पक्राउ परेको सूचना निकालेको थियो।

यता, लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर अनाधिकृत रुपमा खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल पनि रिहा भएका छन्। आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहान पोखरा लगिएको थियो। उनलाई बाहिरै राखेर अनुसन्धान गर्ने गरी रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

लामिछानेको फोटो खिचेको स्वीकार गर्दै उनले माफीसमेत मागेका थिए। सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए। तर, त्यही फोटो रविका सहयोगी दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट