बिवेकका बुबा भन्छन्ः रिपोर्ट लिएर आउँदा उ रोइरहेको थियो, भोलिपल्ट रोएरै बिदा गरें
राजविराज– अमेरिकामा चौथो स्टेजको ब्रेन क्यान्सरसँग जुधीरहेका बर्दियाको बढैयाताल गाउँपालिका–५, राजपुरका युवा ३३ वर्षीय विवेक पंगेनीले डिसेम्बर १७ तारिख, बिहान ५ बजे न्यूयोर्कस्थित ‘मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टर’ मा अन्तिम सास फेर।
‘सात जन्म सँगै मर्ने र सँगै बाँच्ने’ कसम खाएर सिर्जना सुवेदीसँग विवाह गरेका विवेकले धर्मपत्निलाई अस्पतालको वेडमा एक्लै छोडेर गए। मानौं उनीहरुको यो जन्मको साथ यहीँसम्मका लागि थियो। अर्को जन्ममा उनीहरुको मिलन होला/नहोला। तर, सिर्जनाले यही जन्ममा विवेकलाई ७ जन्मको मायाँ दिएर पठाईन। विवेकको आत्मा पनि सिर्जनाको मायाँले तृप्त भएको होला।
विवेकको अप्ठ्यारो अवस्थामा सिर्जनाले यसरी साथ दिईन, मानौ उनी ढोकामा काललाई रोकेर वसेकी छिन्। उनको मायाँ धाराप्रवाह पोखियो। विस्तारै रोगसँगै गल्दै/हार्दै गरेका विवेकलाई सिर्जनाले कहिल्यै हार्न नदिने भगिरथ प्रयास गरिन। प्रेम र हौसला दिईरहिन। तर, दैवको खेल भनौँ या प्रकृतिको नियम। ब्रेन क्यान्सरसँग पराजित भए, विवेक। लामो समयदेखि मौन रही क्यान्सरसँग लडिरहेका विवेकसँगै सिर्जनाको त्याग र समर्पण पनि पराजित भयो। कलिलो उमेरमा सिन्दुर मात्र पुछिएन, आफूले सबथोक मानेको आफ्नो जीवन साथीलाई सँगै राख्ने उनको प्रयास पनि हार्यो।
सिर्जनाको विवेक प्रतिको प्रेम, त्याग, समर्पण र हौसला अहिले धेरैलाई प्रेरणा भएको छ। भगवान श्रीकृष्ण र राधा, मुना–मदन, रोमियो–जुलिएटका कथा पढेकाहरुलाई प्रेमको वास्तविक अर्थ उनैले सिकाएकी छिनु्। अन्तिम अवस्थामा पनि उनले आफुलाई विवेककै लागि रित्याईन। मानौं, अव उनमा अरुका लागि मायाँ भन्ने चिज नै बाँकी छैन।
नेपाली समय अनुसार शनिबार राति ९ बजेपछि दाहसंस्कारको तयारी हुँदै थियो। दाहसंस्कार अघि श्रद्धाञ्जली कार्यक्रममा परिवारजन, साथीभाइ र न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थित थिए।
सिर्जना पतिको शवमा घोप्टिएर भक्कानिएको दृष्य हृदयविदारक थियो। मुटु गाँठो पारेर उनलाई सबैले सान्त्वना र हौसला त दिए। तर, उनको सिउँदोसँगै उजाडिएको सन्सार देखेर धेरैका आँखा रसाए। हौसला दिन पुगेकाहरु नै रुन थाले।
कार्यक्रममा परिवारजनबाट सिर्जनासँगै विवेकका बुवा मिनराज पनि थिए। उनले नेपाली समूदायसामु आफ्नो वेदना पोखे। छोराको शव अगाडि विक्षिप्त मुद्रामा उभिएका उनले छोट्करीमा विवेकको बारेमा यसरी सुनाए।
यस्तो छ मिनराजले सुनाएको विवेकको जिवन कहानी
विवेकले २०४८ साल, भदौ ५ गते बर्दियामा मेरो श्रीमती निर्मला पंगेनीको कोखबाट जन्म लिएको हो। सानैदेखि सरकारी स्कुलमा पढेतापनि विवेक पढ्नमा निकै नै तेज थियो। एसएलसीपछि उच्च शिक्षा पढाउन मैले उसलाई नेपालगञ्जको जयबागेश्वरीमा भर्ना गराए। त्यहाँको पढाइ पनि सकिएपछि मैले बीएस्सी पढाउन काठमाडौँ पठाएँ। उनले त्रिचन्द्र कलेजमा बीएस्सी अध्ययन गर्यो।
विवेकको आमा अर्थात मेरी श्रीमती पार्किन्सन्सको रोगले २०६८ सालदेखि ग्रसित थिइन्। मैले उनको हेरचाह र मेरा छोराहरुको पढाइमा लामो समयदेखि आफ्नो समय खर्चेको छु। छोराहरुको पढाइ राम्रो थियो। त्रिचन्द्रबाट बीएस्सी पास गरेपछि आमाको पिडाले गर्दा विवेक दुई वर्ष घरमै बस्यो। मैले उसलाई मास्टर्स पढ छोरा भनेपछि काठमाडौं फर्किएर त्रिभुवन युनिभर्सिटीमा भर्ना भयो। पढाईलाई कुशलतापुर्वक पार गर्दै उसले फिजिक्समा मास्टर्स सकायो।
त्यतिबेलासम्म उसले अब पीएचडी गर्छु भनेर आफ्नो लक्ष्य निर्धारण गरिसकेको थियो। पढाइको क्रममा उसको सिर्जनासँग माया बसेको रहेछ। मैले उनीहरुको रोजाइलाई सम्मान गर्दै धुमधामसँग विवाह गरिदिएँ। मैले अत्यन्तै कुशल, दयाको सागर र सबै कुरामा क्षमतावान सिर्जना सुवेदी मेरो बुहारीको रुपमा पाएँ। त्यसमा म आफुलाई अत्यन्तै गौरवशाली ठान्थेँ।
विवेक पढ्न अमेरिका जान चाहन्थ्यो। उसले पीएचडीको लागि अमेरिका अप्लाई गर्यो। फुल स्कलरसिप पाएपछि पिएचडी गर्न विवेक र डिपेन्डेन्टमा सिर्जना अमेरिका आए। विवेक अमेरिका आएको पाँच महिनामै उसको आमाको मृत्यु भयो। आमाको काजक्रियाको लागि विवेक नेपाल फर्कियो। आमाको काम सकिएपछि उसले मलाई ‘बुवा तपाईंको स्वास्थ्य परिक्षण गर्नुपर्यो’ भनेर भन्यो। मैले आफूलाई केही नभएको र बेलाबेला चेकअप गराइरहेको बताएँ। तर पनि उसले मानेन। आफ्नै आँखाअगाडि जाँच गर्नुपर्छ भनेर मलाई छोरा र बुहारी सिर्जनाले काठमाडौं ल्याएर हामी ग्राण्डी अपताल आयौं। चेकअप गरेपछि मेरो स्वास्थ्य ठिकै देखियो। सिर्जनाको आँखाको समस्या थियो। उनको पनि आँखा जाँच गरायौं।
विवेकले जहिल्यै ‘बाबा मेरो दाहिने साइड दुख्छ, कान गुम्म हुन्छ अनि चक्कर लाग्छ’ भनिरहन्थ्यो। मैले उसलाई भनेँ– मेरो मात्र जाँच गरेर हुँदैन, तेरो पनि गर। अनि आफैले कानको डाक्टरकहाँ लगेँ। चेक गर्दा डाक्टरले कानको एमआरआइ गराउन भने।
एमआरआइ गर्न डाक्टरले निकै लामो समय लगाए। दुई घण्टा भन्दा बढी समय लागेपछि हामीलाई यो कस्तो खालको एमआरआइ हो भनेर निकै खुल्दुली लाग्यो। दिउँसोको दुई बजिसकेको थियो, हामीले खाना पनि खाएका थिएनौं। एमआरआइ सकेर बाहिर आएपछि विवेकले हामीलाई तपाईंहरु खाना खानु, म पछि खान्छु भन्यो। मैले ‘हैन, पहिले तिमी र सिर्जना खाउ, बरु म पछि खान्छु’ भनेँ। तर उसले मान्दै मानेन।
त्यतिखेरसम्म उसलाई आफ्नो रोगबारे थाहा भइसकेको रहेछ। बुवा र सिर्जनाले थाहा पाए भने खाना खाँदैनन् भन्ने उसलाई लागेको रहेछ। त्यसपछि म र सिर्जना त्यहीँ अस्पतालको अगाडी गएर खाना खायौं। उसले म रिपोर्ट लिएर आएर खाना खान्छु भनेको थियो। रिपोर्ट लिएर आउँदा उ रोइरहेको थियो। थाहा पाएपछि हामी पनि धेरै रोयौं।
उसको भोलिपल्ट साढे १० बजे अमेरिका फर्किने फ्लाइट थियो। हामी सबै बसेर सल्लाह गर्न थाल्यौं। सबैले उपचारका लागि यहाँ बस्नभन्दा अमेरिका नै जान सल्लाह दिनुभयो। बिपी मेमोरियल भरतपुर अस्पतालमा मेरो भान्जा हुनुहुन्छ निर्मल लामिछाने, जो डाक्टर पनि हो, हामीले उहाँसँग पनि सल्लाह लियौं। उहाँले पनि नेपालभन्दा अमेरिका निकै राम्रो विकल्प हो भनेपछि मैले सिर्जनासँग सल्लाह गरेँ।
हामी त अमेरिका जान सक्दैन थियौ, त्यसैले तिमी के गर्छौ भनेर सिर्जनालाई सोधेँ। उसले ‘ठिकै छ बाबा, हामी गर्छौं, स्कलरसीप पनि छ, इन्सुरेन्स पनि छ, त्यसैले उहीँ गएर उपचार गर्छौं’ भनिन्। भोलिपल्ट रोएर उनीहरुलाई बिदा गरियो। गत वर्ष जर्जिया हुँदा म ६ महिना बसेर गएँ। उसको उपचार चलिरहेको थियो। त्यतिबेलादेखि आजभन्दा एक महिना अगाडि न्युयोर्क आउने बेलासम्म मेरो छोरालाई ठिक हुन्छ भन्ने महसुस गरिरहेको थिएँ।
पछिल्लो चरणमा भने १०÷१२ दिन अगाडिबाट छोराको बोलीचाली बन्द भयो। अनि सिर्जनाको हौसलामा पनि निकै कमी आएको देखेँ। हेर्दै खिन्न लागेको थियो। आज यस्तो भयो (भक्कानिँदै)। साँच्चै भन्ने हो भने नेपालमा कति मान्छेहरु ‘ला.. त्यहाँ गएन भने के भन्लान्’ भनेर बाध्यताले मलामी आउँछन्। तर यहाँ सबैजना एकदमै सद्भावले, अत्यन्तै हार्दिकता र सकारात्मक सोचका साथ यो श्रद्धाञ्जलीमा सहभागी भइदिनुभएको छ। यो श्रद्धाञ्जलीमा हजुरहरुको माया, प्रेम अनि यो सद्भाव अत्यन्तै अविस्मरणीय छ।
यो पनि,