रवि भन्छन्ः चेकको दुरुपयोग भयो, एकाउन्टेण्ट भन्छनः किस्ता तिर्ने चेकमा रविले हस्ताक्षर गर्थे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी मार्फत गैरकानूनी ढंगबाट गोर्खा मिडिया नेटवर्कमा ऋण लिइएको जानकारी आफुलाई नभएको बताएका छन्।

आफू गोर्खा मिडियामा हुँदासम्म ऋण नलिएको लामिछानेले दाबी । ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कुनै कार्य म कम्पनीमा रहँदा सम्म भए गरेको छैन सहकारीको रकम अपचलन गर्नमा मेरो कुनै नि किसिमको मिलेमतो संलग्नता रहेको छैन’, उनले बयानमा भनेका छन्।

संसदीय छानबिन समितिको प्रतिवेदनमा आफनो संलग्नता सहकारी ठगीमा नरहेको पुष्टि भएको बताएका लामिछानेले सहकारीको एक रुपैयाँ पनि आफूले नखाएको बताएका छन्। ‘सहकारीको रकम मेरो पेटमा एक रुपैयाँ वरावर पनि परेको छैन। सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा सदीय छानबिन विशेष समितिले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भई सकेको अवस्था छ ।’– उनले भनेका छन्।

लामिछानेले आफूले खाली चेकमा हस्ताक्षर गरेको स्वीकार गर्दै त्यसको दुरूपयोग भएको बयान दिएका छन्। ‘कुनै सहकारीबाट ऋण तिर्नु भन्ने कुनै सूचना, जानकारी, पत्रलगायतको कुनै ताकेता भएको अवस्था समेत थिएन। मलाई लाग्छ, प्रस्तुत चेकहरु या त मैले माथि उल्लेख गरेजस्तै मैले विश्वासमा हस्ताक्षर गरेर छाडेको खाली चेकहरुको दुरुपयोग हो, या त लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशन बमोजिम मेरो जानकारी विना मलाई समेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराई पछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य गरेको चेकहरु हुन सक्छन्।– ,” उनको बयानमा उल्लेख छ।

गोर्खा मिडिया नेटवर्कका अकाउन्टेन्ट सञ्जय अधिकारले भने गोर्खा मिडियाबाट हुने सबै लेनदेनमा रवि लामिछानेको हस्ताक्षर चल्ने गरेको बयान दिएका छन्। १७ वैशाख २०७८ बाट गोर्खा मिडियाको अकाउन्टेन्टको काम सम्हालेका अधिकारीले गोर्खा मिडियाको बैंक खाता रहेको ग्लोबल आईएमई, नबिल बैंक, सिभिल (हाल हिमालयन)बैंकको खातामा लामिछानेको हस्ताक्षर चल्ने गरेको बयान दिएका हुन्।

गोर्खा मिडियाको सबै कारोबारको रेकर्ड राख्ने काम जीबी ग्रुप आफ कम्पनीज प्राइभेट लिमिटेडबाट हुने गरेको उनको बयान छ। उनका अनुसार, जीबी ग्रुप आफ कम्पनीज प्राइभेट लिमिटेडको सबै हिसाब उक्त ग्रुपको लेखा अधिकृत रविना रिमालले राख्ने गर्थिन्।

‘भेन्डरलाई रकम दिनुपर्दा वा कर्मचारीलाई तलब खुवाउनेदेखि कम्पनी सञ्चालनका लागि आवश्यक पर्ने सामानको लिस्टसमेत बनाएर मैले कुमारीपाटी इमेल गरी पठाएपछि रविना रिमाल मिसले सबै हेरेर सञ्चालकहरूसँग अनुमति लिई मलाई चेक लिन बोलाएपछि म कुमारीपाटी गएर चेक लिई गितेन्द्र बाबु राई भेटिएमा उहाँकै दस्तखत गराउने र उहाँ नभेटिएमा गोरखा मिडियामा आई खर्च हुने रकमको सम्बन्धमा भौचर भरी पेमेन्ट भौचरमा गितेन्द्र बाबु राई वा रवि लामिछाने वा म भन्दा माथि रहनु भएको कम्पनीको अपरेसन हेड पुष्पराज गिरीबाट पेमेन्ट भौचर अप्रुभ गराएपछि उक्त अप्रुभ भएको पेमेन्ट भौचर सहित चेकमा भुक्तानी पाउनेको नाम र रकम लेखेर प्रबन्ध निर्देशक रवि लामिछानेकोमा पेस गरेपछि उहाँले चेकमा दस्तखत गर्ने गर्नुहुन्थ्यो।’ उनले भनेका छन्।

त्यसपछि उक्त चेक भुक्तानीका लागि भेन्डरवाला स्वयंलाई भर्पाइ गरिदिने, अन्य लोनको किस्ता तिर्ने हकमा आफुलगायत कर्मचारीहरू रजनी श्रेष्ठ, मदन केसी, सन्तोष ढकालले खातामा जम्मा गर्ने गरेको उनको भनाई छ।

गोरखा मिडियामा आएको रकमको सम्पूर्ण विवरण जीबी ग्रुप अफ कम्पनीज प्राइभेट लिमिटेडको कार्यालयले राख्ने गरेको अधिकारीले बयान दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट