जग्गा ब्यवसायीलाई ‘हनिट्रयाप’ मा पारेर रकम असुलेको आरोपपछि भागेकी इन्स्पेक्टर शाहीद्वारा आत्मसमर्पण
काठमाडौँ– घरजग्गा व्यवसायीलाई ‘हनि ट्रयाप’ मा पारेर पैसा असुल गरेको आरोपपछि निलम्बनमा परेकी भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीले आत्मसमर्पण गरेकी छिन्।
प्रहरीले छानविन समिति बनाएर घट्नाको अनुशन्धान थालेपछि भागेकी शाही आज जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी हुन्। उनीसँग सम्वन्धित मुद्दा आजै न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा पेशी चढेकाले शाही अदालतमा हाजिर भएकी हुन।
शाहीले बिहान करिव पौने १० बजे अदालतमा हाजिर हुन पाऊँ भनी निवेदन दिएकी थिईन। शाहीको बयान सकिएपछि बहस हुनेछ। त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ।
उनीमाथि प्रहरी हिरासतमा रहेका आरोपितलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख रुपैयाँ असुलेको आरोप छ। उक्त आरोपमा उनीसहित ६ जनाविरुद्ध गत २९ मंसिरमा जिल्ला अदालत ललितपुरमा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले गत १३ मंसिरमा घटनाको मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश गरेको छ। अर्का प्रतिवादी भीमादेवीलाई २ लाख र सुस्मा विकलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
अर्का प्रतिवादी प्रहरी सहायक हवल्दार महेन्द्र हमाल भने साधारण तारेखमा रिहा भएका छन्। घटनामा प्रतिवादी बनाइएका प्रहरी प्रभाग भैंसेपाटीका तत्कालीन इन्सपेक्टर शाही र सुनसरीका दर्शन पोखरेल भने फरार थिए।
यो घटनाको अनुसन्धान सुरुमा जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापासमेत जोडिएपछि अनुसन्धानको सीआईबीलाई दिइएको थियो। अनुशन्धान अनुसार हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि चिनजान थियो।
सुस्मा मोरङको एक होटलमा काम गर्थिन्। त्यसैक्रममा उनीहरू नजिकिएका थिए। सुस्मा र व्यवसायीको सम्बन्ध थाहा पाएपछि ताजको समूहले सुस्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ। त्यसका लागि अनकूल ठाउँको खोजी गर्दै प्रहरी प्रभाग भैंसेपाटी पुगेको प्रहरीको निष्कर्ष छ।
योजना अनुसार सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएका थिए। ७ असोजमा शान्ति सुरक्षाको विषय उठाएर व्यवसायीविरुद्ध निवेदन दिए। पछि बलात्कारको विषयमा छलफल गराएर रकम असुलिएको खुलेको थियो।
घटनाबारे छानबिन गर्न प्रहरी परिसर ललितपुरले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा बनाएको समितिले योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक समेत गायब बनाइएको निष्कर्ष निकालेको थियो।
व्यवसायीले नगद २० लाख रूपैयाँ प्रतिवादी भीमादेवीको खातामा जम्मा गरेका थिए भने १० लाखको चेक दिएका थिए। सबै काम इन्सपेक्टर बिनुको रोहबरमा भएको अनुसन्धानबाट खुलेपछि उनलाई पनि प्रतिवादी बनाइएको थियो।
सहायक हवल्दार हमालमाथि भने असुल गरिएको रकम दुई पटक आफैंले बैंकमा जम्मा गर्न लगाएको आरोप छ।