सुदूरपश्चिमसँग २ पटकको हारको बदला लिँदै जनकपुर बन्यो ‘एनपीएल च्याम्पियन’
काठमाडौँ– सुदूरपश्चिमसँग लिग र क्वालिफायर वानको बदला लिँदै जनकपुर एनपीएलको च्याम्पियन बनेको छ। ओपनर लाहिरू मिलन्थाको उत्कृष्ठ ब्याटिङको सहयोगमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको १८५ रनको विशाल लक्ष्य जनकपुरले ५ विकेटको क्षतिमा १९.२ ओभरमा पूरा ग¥यो। जनकपुरको जितमा श्रीलंकन मूलका अमेरिकी विकेटकिपर ब्याटर लाहिरू मिलन्थाले ४९ बलमा ८७ रन जोडे। १६औं ओभरको तेस्रो बलमा सुदूरपश्चिमका स्कट कुगेलेइनको बलमा क्याच हुनुअघि उनले ९ चौका र ४ छक्का प्रहार गरेका थिए।
जनकपुरले ६ ओभरको पावरप्लेमा ७१ रन जोडेको थियो। कप्तान आसिफ शेख सातौं ओभरको अन्तिम बलमा ३३ रन बनाउँदा सइफ जइबको बलमा क्याच भए। १९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका आसिफले पहिलो विकेटका लागि ओपनर लाहिरू मिलान्थासँग ७ ओभरमा ७३ रनको साझेदारी गरेका थिए।
दशौं ओभरमा सय रन पूरा गरे लगत्तै जनकपुरका मोहमद मोहसिन ८ बलमा १ छक्कासहित ९ रन जोडेर आउट भए। उनलाई सुदूरपश्चिमका इशान पाण्डेले बोल्ड गरे। मोहसिनले मिलन्थासँग दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे।
मिलन्थाले १२औं ओभरको पहिलो बलमा जीवनदान पाएका थिए। ६५ रन बनाएर खेलिरहेको बेला उनको क्याच लिन सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी चुकेका थिए। दीपेन्द्रको बलमा मिलन्थाको प्रहार आकासिएको थियो। जसमा दीपेन्द्र क्याच लिन असफल भए। क्याच ड्रप भए लगत्तैको बलमा हर्ष थाकरले दीपेन्द्रलाई छक्का प्रहार गरेका थिए।
मिलन्थाले तेस्रो विकेटका लागि हर्ष थाकरसँग ५९ रनको साझेदारी गरेका थिए। जनकपुरका जिमी निशम भने ४ रनमै बोल्ड भए। जितका लागि ३ रन चाहिएको बेला आकाश त्रिपाठीलाई १९औं ओभरको चौथो बलमा ऐरीले रनआउट गरे। १९औं ओभरमा जइबले २ रन मात्र खर्चिए।
अन्तिम ओभरमा जनकपुरलाई जितका लागि ३ रन चाहिएको थियो। पहिलो बलमा जनकपुरका हर्ष थाकरले सुदूरपश्चिमका नरेन साउदको बलमा एक रन लिए। दोस्रो बलमा मयन यादवले दुई रन लिएपछि जनकपुर च्याम्पियन बन्यो। थाकरले २४ बलमा नटआउट ३० रन जोडे।
बलिङतर्फ सुदूरपश्चिमका कुगेलेइन, ऐरी, पाण्डे र जइबले एक/एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनर सबफ जइबको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जइबले ४३ बलमा ८ चौका र ३ छक्कासहित ६९ रनको योगदान गरेका थिए।
बलिङमा जनकपुरका मोहसिन र किशोरले ३–३, जिमी निशम र ललित राजवंशीले १–१ विकेट लिए।
यो पनि,
एनपीएलको फाईनलमा जनकपुर र सुदुरपश्चिमः दुई पटकको हारको वद्ला लिने दाउमा जनकपुर