प्रहरी हिरासतमा रहेका ब्यक्ति छुटाई दिने भन्दै रकम असुल गर्ने ३ जना पक्राउ
काठमाडौँ– प्रहरी हिरासतबाट रहेका ब्यक्तिलाई छुटाइदिने भन्दै परिवारका सदस्यसँग रकम असुली गरेको आरोपमा कैलालीमा ३ जना पक्राउ परेका छन्।
गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउदलाई प्रहरीले पक्राउ गरेको हो।
कैलाली प्रहरीका एसपी पदमबहादुर विष्टका अनुसार लागुऔषध मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का एक जना थुनुवालाई छुटाई दिने भन्दै उनीहरुले परिवारबाट रकम असुलेका थिए।
थुनुवा छुटाउन उनीहरुले साढे ३९ हजार भारतीय रुपैयाँ लिएको खुलेको छ। त्यो बाहेकको थप रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई समेत गरेका थिए। थुनुवाका परिवारलाई विश्वास दिलाउन किर्ते कागजपत्र बनाएर नेपाली कागजमा अदालतको आदेश समेत लेखेर देखाएका थिए।
उनीहरूलाई थुनामुक्त गरिदिन भन्दै लेखिएको अदालतको भनिएको आदेशमा जिल्ला प्रहरी कार्यालय कैलालीको लोगो र नाम राखेको पाइएपछि किर्ते भएको परिवारले थाहा पाएका थिए।