यस्तो छ रवि लामिछानेको भन्दै भाईरल बनाईएको फोटोको बास्तविक्ता, फोटो हाल्ने मान्छे खोज्दै प्रहरी

काठमाडौँ– जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको भन्दै शेयर गरिएको सुतिरहेका फोटो अहिले सामाजिक सञ्जालमा भाईरल भईएको छ।

फोटोमा टोपी लगाएका एक व्यक्ति सिरक ओढेर सुतिरहेको देखिन्छ। खाट मुनी छेउमा एकजोर चप्पल र टेवुल छ। जसमा केही कितावहरु राखिएका छन्। एउटा अर्को फोटोमा भने ओछ्यानको छेउकामा रहेको टेबुल समेत छैन। रास्वपाका कार्यकर्ताहले ‘यो फोटो रवि दाईकै हो’ भन्दै सामाजिक सञ्जालमा भाईरल वनाई रहेका छन्।

उनीहरुले फोटो रवि लामिछानेकै भएको र कास्की प्रहरी हिरासतकै भएको दावी गरिरहेका छन्। रविका सहयोगी एवम् रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो रविकै भएको फेसवुकमा लेखेका छन्। सीसीटीभीको फुटेजबाट प्रहरीले नै स्क्रिनसट गरेर फोटो निकालेको उनको आरोप छ।

‘रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला?’ भन्दै उनले फेसवुकमा लेखेका छन्। तर, कतिपयले भने त्यो एआईबाट जेनेरेट गरिएको भन्दै ‘फेक’ हो भनेर कमेन्ट गरेका छन्।

तर रास्वपाका कार्यकर्ता डा. निकोलस भुसालले त्यो फोटो आफूले खिचेको र वास्तविक भएको दाबी गरेका छन्। ‘तस्बिर मैले नै खिचेको हो। नराख्नुपर्ने रहेछ, गल्ती भयो,’ उनले भनेका छन्, ‘रवि दाइको अवस्था राम्रो छ, चिन्ता लिनुपर्दैन भनेर सन्देश दिनका लागि राखेको, अनर्थ भयो।’

वास्तवमा भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ मा जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए। उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए। तर, रास्वपा सह–कोषाध्यक्ष बोहोराले तस्बिरबारे प्रश्न उठाएपछि उनले रविको तस्बिर हटाएका थिए।

कास्की प्रहरी स्रोतका अनुसार केही दिन अघि निकोलस भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका थिए। तर, प्रहरीले रवि सुतिरहेको र अहिले भेट्न नमिल्ने बताएको थियो। भुसालले अड्डी कसेपछि उनलाई सीसीटिभीबाट रवि सुतेको देखाइएको थियो। यद्यपि, सीसीटिभी भएको ठाउँसम्म उनले मोबाइल कसरी लान पाए भन्ने चाहिँ प्रहरीले बताउन सकेको छैन।

प्रहरीले सो तस्बिर पोस्ट गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ। डीएसपी वसन्तकुमार शर्माले आफूहरू घटनाबारे जानकार रहेको र अनुसन्धान भइरहेको बताए। जिल्ला प्रशासन कार्यालय कास्कीले पनि फोटोको वास्तविकताबारे अध्ययन भईरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट