सहकारी ठगी प्रकरणमा एमाले सांसद पत्निलाई अदालतले बोलायो, ३५ दिने म्याद जारी

विराटनगर– मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा नाम जोडिएकी संसद्का लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी भएको छ।

धनपालथान गाउँपालिका–३ मा रहेको सहकारी ठगी प्रकरणमा मुद्दा चलेका तर अदालतमा उपस्थित नभएका÷पक्राउ नपरेका २५ जनाको हकमा मोरङ जिल्ला अदालतले उपस्थित हुन आउनू भनी ३५ दिने म्याद जारी गरेको हो। अन्य १० जनाविरुद्ध भने यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको छ।

आफनै कार्यकर्ता धनपालथान–४ घर भइ विराटनगरको शान्तिचोक बस्दै आएका शम्भुप्रसाद रौनियारले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले पत्नि अञ्जलालाई सञ्चालकमा राखेका थिए। शिक्षण पेशामा रहेकी पत्निलाई भने सहकारीको कामकाजका बारेमा जानकारी थिएन। सहकारी संकटमा परेपछि उनले ५ माघ ०७८ मा राजीनामा दिएकी थिइन्।

पोखरेलले भने आफ्नी पत्नीलाई अध्यक्ष रौनियारले फसाएको आरोप लगाउँदै आएका छन्। करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ। अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो।

सहकारीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ भने १८ करोड ४० लाख कुल पुँजी देखाइएको छ। १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको रिपोर्टबाट देखिएको छ।

यो प्रकरणमा २८ मंसिरमा मोरङ जिल्ला अदालतले सहकारीका सञ्चालक सदस्यसमेत रहेका धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई पूर्पक्षका लागि थुनामा पठाएको छ। ०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

फरारको सूचिमा कोइरालासहित रंगेली नगरपालिका–२ का वडाध्यक्ष एवम् सहकारीका पूर्वउपाध्यक्ष ४३ वर्षीय संतलाल खवासलगायतका छन्। खवास ०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट