इजलाशमा रविको असन्तुष्टिपछि न्यायाधीशले भने–तपाईंको अनुभव पछि तपाईंलाई नै काम लाग्छ
काठमाडौँ– अन्तिमपटक म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज पनि न्यायाधीशसँग सवाल जवाफ गरेका छन्।
आफूलाई बाहिर छाडिदिएको भए प्रमाण नष्ट गर्थेँ ? भन्दै उनले इजलाशमा प्रश्न गरेका छन्। कास्की प्रहरीले लामिछानेलाई अरु ४ दिन हिरासतमा राख्न माग गर्दै म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।
न्यायाधीश हिमलाल बेलबासेको २ नं. इजलासमा उपस्थित गराईएका रविले भनेका थिए– ‘मलाई बाहिर छाडेको भए के प्रमाण नष्ट गर्थें र श्रीमान?’ रविले त्यति भनेपछि न्यायाधीशले मुसुक्क हाँस्दै भने, ‘त्यो पछि थाहा हुन्छ। तपाईंको अनुभव पछि तपाईंलाई नै काम लाग्छ।’
इजलासले सुर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।
प्रहरीले अनुशन्धान थालेको ८४ दिनपछि सोमबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये ३७ जना फरार प्रतिवादी छन्। उनीहरूविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ।