रक्सी खाएर स्टाईल देखाउन आफैमाथि गोली चलाएर घाईते भएका सईको जागिर पनि धरापमा
काठमाडौँ– मंसिरको दोस्रो साता आफैंमाथि गोली चलाउने नेपाल प्रहरीका असई किसनबहादुर चन्दको जागिर पनि धरापमा परेको छ।
अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीमा इन्चार्जका रुपमा कार्यरत रहँदा १३ मंसिरमा उनले मादक पदार्थ सेवन गरी आफैंमाथि गोली चलाएका थिए। गोली प्रकरणपछि घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी बिनोद शर्माको नेतृत्वमा समिति गठन भएको थियो।
उक्त समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको छ। प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको जस्ता कारणले संगठन राख्न उपयुक्त नदेखिएको भन्दै समितिले बर्खास्त गर्न सिफारिस गरेको छ।
प्रदेश प्रहरी कार्यालयका एसपी नवराज कार्कीले पनि छानबिन समितिले चन्दलाई कारबाही गर्न सिफारिस गरेको जनाए। अहिले उनी नेपाल प्रहरी अस्पताल काठमाडौँमा उपचाररत छन्। घटना भएको दिन पनि चन्दले प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार गगन चन्दमाथि गोली प्रहार गर्न खोजेको पाईएको छ।
सईले पेस्तोल ताकेपछि हवल्दार गगनले भागेर ज्यान बचाएका थिए। त्यसपछि उनले आफैमाथि गोली प्रहार गरेको देखिएको छ। स्रोतका अनुसार चन्दले अन्य दुई प्रहरीलाई सँगै राखेर ‘मलाई अमिताभ बच्चनको जस्तै एक्सन गर्न आउँछ’ भन्दै आफैंमाथि पेस्तोल ताकेका थिए। त्यसै वेला गोली चलेर उनी घाईते भएको जनाईएको छ।
यसअघि कैलालीमा हुँदा समेत उनले एक जना इन्स्पेक्टरलाई पेस्तोल ताकेका थिए।