राजविराज विमानस्थलबाट राती पनि काठमाडौँ जान सकिने, आज परिक्षण उडान

राजविराज — सप्तरीको राजविराज विमानस्थलमा सोमबार साँझ बुद्ध एयरले रात्रीकालिन परिक्षण उडान गर्ने भएको छ।

संघीय सरकारका पर्यटनमन्त्री बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितीमा बुद्ध एयरले परीक्षण उडान गर्न लागेको हो। अहिले बुद्ध एयरले हरेक दिन दिउँसो एउटा उडान गर्दै आएकामा अव रात्रीकालिन उडान पनि गर्ने जनाईएको छ।

रात्रिकालिन उडानका लागि भौतिक पूर्वाधार निर्माणदेखि आवश्यक प्राविधिक तयारीसमेत पुरा भएको विमानस्थल कार्यालयले जनाएको छ। सोमवार साँझ नियमित उडानलाई नै परीक्षण उडानमा परिणत गरिएको विमानस्थलका कार्यालय प्रमुख ध्रुवराज श्रेष्ठले वताए।

उनका अनुसार राजविराज रात्रीकालिन उडान गर्ने १०औँ विमानस्थल भएको छ। राजविराज विमानस्थलमा १८ माघ ०७६ देखि बुद्धले नियमित उडान गर्दै आएको छ। जहाज काठमाडौंबाट यात्रु लिएर राजविराज उत्रने र यहाँबाट यात्रु लिएर काठमाडौं फर्किने गरेको छ।

लामो समय बन्द भएर गौचरणमा परिणत भएको राजविराज विमानस्थल १० असार ०७५ देखि पुनः सञ्चालनमा आएको हो। तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले यो विमानस्थलको उदघाटन गरेका थिए। सुरुमा श्री एयरलायन्सले सातामा पाँच दिन उडान गर्दै आएको थियो।

पछि २ दिन कटौती गर्दै ३ दिन र ३ दिनबाट २ दिन गर्दै एक वर्षपछि श्री एयरलाइन्सले राजविराज उडान बन्द गर्यो। त्यसपछि वुद्ध एयरले नियमित उडान गर्दै आएको छ। २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन भएको केही दिनभित्रै राजविराज विमानस्थलमा विमान सेवा बन्द भएको थियो।

बीचबीचमा केही समय विमानस्थलमा जहाज आए पनि कच्ची धावन मार्ग तथा अन्य प्राविधिक समस्याका कारण राजविराज विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन। तत्कालिन मन्त्रि अधिकारीको पहलमा ३० करोड रुपैयाँभन्दा बढीको लागतमा राजविराज विमानस्थलमा पक्की धावनमार्गसहितका अन्य पूर्वाधारहरू तयार भएको छ।

राजविराज विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा पक्की धावन मार्ग छ । यसका अतिरिक्त ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा १ सय १० मिटर लामो ट्याक्सी वे छ। टर्मिनल भवनसमेत नयाँ निर्माण गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट