घरैमा पेस्तोल बनाएर साथीको हत्या, ३ जना पक्राउ

काठमाडौँ– पश्चिम नवलपरासीमा एक युवकको गोली हानी हत्या भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–२ मुसहर टोलका २३ वर्षीय रोहन महतोको गोली हानी हत्या भएको हो।

हत्या आरोपमा प्रहरीले मृतक युवाकै साथीहरु सुस्ता–२ महलबारीका २२ वर्षीय विशाल मुसहर, २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारूलाई पक्राउ गरेको छ। गत विहिबार सामान्य विवादमा होममेड पेस्तोलबाट गोली हानी उनीहरुले रोहनको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरु चारै जना वेल्डिङको काम गर्थे। भारतीय बजारबाट आवश्यक सामग्रीहरू ल्याई आफैँले फलाम स्पिड तथा रबर प्रयोग गरी पेस्तोल पनि बनाएका थिए। सोही पेस्तोल लोड गरेर आएका उनीहरूले सामान्य विवादमा महतोमाथि गोली प्रहार गरी भागेको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ।

पक्राउ परेकाहरुको साथबाट होममेड पेस्तोल, २८ थान छर्रा, १२ वटा सलाई, तीन थान छर्रा राख्ने फ्रेम बरामद भएको प्रहरीले जनाएको छ। तीनै जना विरुद्ध कर्तव्य ज्यान तथा हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट