श्रीमानले परपुरुषसँग लागेको आरोप लगाएपछि २ नाबालकको हत्या गरी आमाले गरिन आत्महत्या

काठमाडौँ– नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेको नुचेतमा आईतबार विहान करिव ९ बजे २३ वर्षिय चन्दीमाया तामाङ तथा उनका नाबालक छोराहरू ५ वर्षीय रोशन र ३ वर्षीय रोमन आफ्नै घरभित्र मृत अवस्थामा फेला परे।

एउटै कोठाको तीन कुनामा झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको थियो। झुण्डिनका लागि एउटै डोरीलाई काटेर तीन टुक्रा बनाएको जस्तो देखिन्थ्यो। घटना शंकास्पद, कारुणिक र गम्भीर प्रकृतिको थियो।

स्थानीयका अनुसार चन्दीमायाका श्रीमान् रेस घले बिहान घरभन्दा केही माथी बारीमा केराउ टिप्न गएका थिए। घरबाट निस्कनुअघि उनको श्रीमतीसँग सामान्य भनाभन भएकोसम्म प्रहरीले सुईको पायो। यही कुरालाई आधार मानेर अनुशन्धान गरिरहेको प्रहरीले उनीहरुको मृत्युका पछाडि गम्भिर कारण फेला पारेको छ।

चन्दीमाया र रेसबहादुरको ६ वर्ष पहिले प्रेमबिवाह भएको थियो। तर, पतिपत्निका बीच झगडा भैरहन्थ्यो। आफन्तका अनुसार रेसबहादुरले चन्दीमायाँलाई कुटपिट पनि गर्थे। यति मात्रै होईन, चन्दीमायालाई परपुरुषसँग लागेको आरोप पनि लगाउँथे। आइतबार पनि सोही निहुँमा विवाद भयो।

वडाध्यक्ष पशुपती घलेका अनुसार विवादका क्रममा चन्दीमायालाई दुई थप्पड गालामा हानेको समेत रेसबहादुरले स्वीकार गरिसकेका छन्। त्यपछि रेसबहादुर घर नजिकै रहेको बारीतिर लागेका थिए। घलेका अनुसार चन्दीमायाँले आफ्नी ठूलीआमालाई फोन गरेर ‘मलाई कुटपिट गर्यो। अब म बाँच्च सक्दिनँ। म पनि मर्छु, छोराहरुलाई पनि सँगै लैजान्छु’ भनेको खुलेको छ।

ठुलीआमाले तुरुन्तै आफन्त पर्ने चोक्ता तामाङलाई फोन गरेर विस्तृत जानकारी गराईन। उनीहरु पुग्दा तीनैजनाको मृत्यु भईसकेको थियो। त्यसपछि नुवाकोट प्रहरी घटनास्थल पुगेको थियो। श्रीमानको अपजस र कुटपिटका कारण आवेशमा आएर चन्दीमायाँले दुई नाबालक सन्तानको हत्या गरी आफुले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानमा देखिएको छ।

नुवाकोट प्रहरीका डीएसपी तीलक भारतीले अनुसन्धानका लागि रेसबहादुरसहित अन्य दुईजनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट