समिक्षालाई के आईलाग्यो यस्तो ? जता गए’नी ‘१० लाख’कै पीर !
काठमाडौँ– नायक पल शाहमाथि बलात्कारको आरोप लगाएर १० लाखको डिमाण्ड गरेको विषयले गायिका समिक्षा अधिकारीलाई अझै छोडेको छैन।
गत शनिवार कपिलवस्तुको बाणगंगास्थित जितपुरमा आयोजित ‘कपिलवस्तु महोत्सव’ मा गीत गाउन पुगेका वेला पनि यही विषयमा उनले हुटिङ सहनु पर्यो। प्रस्तुति सुरु गर्नु पुर्व माईक समाउनासाथ भीडबाट ‘१० लाख…, १० लाख…’ भन्दै हल्ला भयो।
रिसले आगो भएकी उनले पनि ‘तपाईँको दिदी, तपाईँको आमा, तपाईँको बहिनी हो १० लाख ?’ भन्दै भनिदिईन। ‘आफ्नो दिदीबहिनीलाई भन्या हो ? गएर आफ्नो आमालाई भन्नु न जानु… सुन्नुभयो नि…’ भन्दै उनले उल्टै आलोचकलाई थर्काईन।
त्यसपछि उनले आफनो प्रस्तुतीलाई अगाडि बढाईन। उनले यस्तो आलोचना खेप्न थालेको निकै भईसकेको छ। उनीमाथि स्टेजमै ढुंगामुढा पनि भए। फोहोर पानीले भरिएको बोतल फ्याँकियो। अश्लील नाराबाजी भयो। तर, उनले हिम्मत हारेकी छैनन्। जस्ता बाधा अवरोध आएपनि उनले आफुलाई सतिसाल झै उभ्याईरहेकी छिन्।
समीक्षाले फागुन ०७८ मा पल शाहविरुद्ध जिल्ला अदालत तनहुँ र नवलपुरमा जबरजस्ती करणीको मुद्दा हालेकी थिइन्। अदालतले भदौ ०७९ मा पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसलामा समीक्षालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश थियो।
तर, समीक्षाले आफूलाई आर्थिक क्षतिपूर्ति नचाहिने भन्दै सार्वजनिकरुपमै १० लाख रुपैयाँ नलिने घोषणा गरेकी थिइन्। तर पलका फ्यानहरुले अहिले पनि उनलाई ‘१० लाख’ कै कुरा उठाएर होच्याउने गरेका छन्।
बरु, समीक्षाले नै क्षमादान दिएर पल शाहले सजायबाट उन्मुक्ति पाईसकेका छन्। समिक्षाले बयान फेरेपछि उच्च अदालतले पललाई सफाइ दिएको थियो।