पत्रकार महासंघको चुनावका लागि मधेश प्रदेशमा पनि तीन संगठनको भागवण्डा, अध्यक्ष मञ्चलाई
राजविराज– आगामी मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि मधेश प्रदेशमा प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल र प्रेस मञ्च नेपालले तालमेल गरेर पद बाँटफाँट गरेका छन्।
महोत्तरीको बर्दिबासमा आज सम्पन्न भएको तीन वटै संगठनको संयुक्त बैठकले प्यानल बनाउदै पद बाँटफाँट गरेको हो।
सहमति अनुसार प्रदेश अध्यक्ष प्रेस मञ्च, उपाध्यक्ष समाजवादी प्रेस संगठन नेपाल तथा महिला उपाध्यक्ष र महासचिव प्रेस सेन्टरले लिने भएका छन्।
सचिव मञ्च, सहसचिव सेन्टर र कोषाध्यक्ष समाजवादीको भागमा परेको छ। १४ जना सदस्य मध्ये खुल्ला ५ जनातर्फ सेन्टरले २, मञ्चले २ र समाजवादीले १ जनाको भाग पाएका छन्।
यसैगरी महिला सदस्यमा तीन वटै संगठनले १÷१ वटा बाँडेका छन् भने दलित सदस्य सेन्टर, आदिवासी जनजाती सदस्य सेन्टर र समाजवादी, मधेशी सदस्य सेन्टर र समाजवादी, अल्पसंख्यक सदस्य मञ्चले पाउने भएका छन्।
सहमति पत्रमा किरण कर्ण, प्रविण साह र अमरेन्द्र कुमार यादवले हस्ताक्षर गरेका छन्।