मन्दिर दर्शन गरेर फर्किँदै गरेका शिक्षा एकाइ प्रमुखको गाडी दुर्घट्ना, श्रीमती र भतिजे वुहारीको मृत्यु
काठमाडौँ– बाजुराको बडिमालिका नगरपालिका–८, मार्तडीमा स्कारपियो दुर्घटना हुँदा दुई जना महिलाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्।
दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–१ की ३१ वर्षीया गायत्री पन्त र ५२ वर्षीया राधिका भट्टको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पन्तको घटनास्थलमै र भट्टको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको हो।
बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट घाईते छन्। राधिका शिक्षा समन्वय एकाइ प्रमुख रामदत्त भट्टकी श्रीमती हुन् भने गायत्री उनकी भतिजे बुहारी हुन्।
घाईते मोहनदेव उनका भतिजा र लोकेन्द्र पनि आफन्त नै हुन। रमेश धामी कार्यालयका भान्से रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीले बताए। घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ।
भर्खरै बाजुरा सरुवा भएर गएका शिक्षा एकाइका प्रमुख भट्टका आफन्त मन्दिरको दर्शन गरेर फर्किँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो आइतबार दिउँसो दुर्घटनामा परेको हो। प्रहरीका अनुसार मोहनदेवले गाडी चलाइरहेका थिए।