जग्गा बेच्न किर्ते कागज बनाएको आरोपमा धुनीबेशीका एक वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौँ– जग्गा बेच्न नाबालकको कीर्ते कागजात बनाएको आरोप लागेका धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत धादिङले १२ मंसिरमा पक्राउ पुर्जी जारी गरेको धादिङ प्रहरीले जनाएको छ। वडाध्यक्ष हरिप्रसाद सुवेदी, तत्कालीन वडासचिव मिलन कुमार सुवेदी, वडाका कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका–४ पुरोना गुहेश्वरीका ३६ वर्षीय जमुना परियारविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी दीपेन्द्र शाहीका अनुसार गुहेश्वरीकी जमुना परियारको छोराको उमेर बढाएर दोस्रो जन्मदर्ता बनाएको कसुरमा उनीहरु विरुद्ध सरकारी कागजात कीर्ते आरोप आरोप छ।
स्रोतका अनुसार जमुना र नाबालक छोराको नाममा जग्गा रहेको र उक्त जग्गा बेच्नका लागि कीर्ते जन्मदर्ता बनाएर नाबालकलाई साबालक बनाइएको थियो। त्यसपछि साबालक छोराको समेत अनुमति भनेर करोड भन्दा बढी मूल्यको जग्गा बेचेको खुलेको अनुसन्धान अधिकृतले बताएका छन्।
किर्ते गरे वापत वडाध्यक्षसहितको समुहले केही रकम घुस लिएको प्रहरीको भनाई छ। पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष सुवेदी मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन्।