दिमागी पक्षघात भएपछि धनगढीका मेयर हमाललाई उपचारका लागि दिल्ली लगियो
काठमाडौँ— दिमागी पक्षघात भएपछि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई उपचारका लागि भारतको दिल्ली लगिएको छ।
केही दिनदेखि अस्वस्थ रहेका हमाल शुक्रबार धनगढीकै मायामेट्रो अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि उनलाई शनिबार दिल्ली लगिएको हो। हमालको उपचारमा संलग्न मायामेट्रो अस्पतालका डा. हरि पौडेलका अनुसार हमाललाई दिमागको पक्षघात भएको छ।
धनगढीमा सबै प्रकारले उपचारको सुविधा नभएकाले रेफर गरेर दिल्ली पठाईएको डा. पौडेलले जनाएका छन्। हमालको सचिवालयका अनुसार उनलाई दिल्लीस्थित म्याक्स अस्पतालमा लगिएको छ।
यसअघि उनी कानको बिरामी थिए। सचिवालयका अनुसार शुक्रबार भने उनलाई रिङटा लागेको थियो।
हमाल ०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन। हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मतले हराएका छन्। अघिल्लो निर्वाचनमा भने हमाल ओडसँग पराजित भएका थिए।
पछिल्लो निर्वाचनमा हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याएका थिए। निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाएका थिए भने तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याएका थिए।
०७४ सालको स्थानीय तहको निर्वाचनमा हमाल कांग्रेसका ओडसँग २७ सय मतान्तरले पराजित भएका थिए। तर यसपटकको चुनावमा कांग्रेसले माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि ओडले लज्जास्पद हार व्यहोरेका हुन।