विराटनगर पुगेका देउवालाई पीठ देखाएर शेखर कोईराला चितवन हिडेपछि…

विराटनगर– पार्टीको निर्देशनविपरित कोशीमा प्रदेश सभापतिहरुको भेला राखेर सभापति शेरवबहादुर देउवा समक्ष शक्ति प्रदर्शन गरेका नेता शेखर कोईरालाले विराटनगरमै आयोजित प्रदेश सम्मेलन भने वहिस्कार गरेका छन्।

वरियतामा असन्तुष्टि जनाएका कोईराला विराटनगर नै पुगेका सभापति देउवालाई पीठ देखाएर विहानै चितवनतिर लागेका छन्। उनले सभापति देउवापछिको वरीयतामा दाबी गरिरहेका छन्। तर दोस्रो वरीयतामा उपसभापति पूर्णबहादुर खड्का छन् ।

चितवन कांग्रेसका पूर्वसदस्य उद्धव लोहनीका बुवा स्व. टेकबहादुर लोहनी र अर्का केन्द्रीय सदस्य दिनेश कोइरालाका बुवा स्व. भिष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुन उनी त्यता लागेका हुन।

यता, कोशी प्रदेश सम्मेलन उद्घाटन गर्न विराटनगर पुगेका सभापति देउवा भने शशांक कोइरालाको साथ लागेर शेखर वसिरहेको कोइराला निवासमा पुगेका छन्। सम्मेलनका लागि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरु विराटनगरमै छन्।

सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिनेछ। तर, कोइरा समुहले यसअघि मंसिर १८ र १९ गते विराटनगरमा भएको प्रदेश स्तरीय पालिका सभापतिहरूको भेलाले गरेका चार बुँदे निर्णय सभापति देउवालाई वुझाउने तयारी गरेको छ।

देउवाले पत्र बुझ्न नमाने होहल्ला हुने कोइराला निकट एक नेताले बताए। कोइराला पक्षको भेलाले मतदाताहरूको प्रतिनिधित्व, क्षेत्रीय प्रतिनिधित्वहरूको घनत्व, समुदाय स्तरमा पार्टीलाई जीवन्त र चुस्त दुरुस्त राख्नका लागि अधिकार सम्पन्न मर्यादित महानगरपालिका कार्यसमितिलाई सशक्त बनाई नगरवासीहरूको हितमा परिचालित हुने निर्णय गरेको छ।

जसमा २०८० साल श्रावण १२ गते काठमाडौँमा सम्पन्न पहिलो बैठकबाट गरिएका ४ निर्णयहरू माथि पार्टीको उच्च तहको ध्यानाकर्षण गराउँदै कार्यान्वयनको लागि दबाब दिने, २०८१ भदौ २७ र २८ गते पोखरामा सम्पन्न दोस्रो बैठकबाट पारित वडा, गाउँ, नगर, उप–महानगर र महानगरस्तरीय कार्य समितिहरुलाई स्थानीय सरकारमा (वडा र पालिका) पार्टीका उम्मेदवार छनौट गर्न पाउने अधिकार सम्पन्न गराउन नेतृत्व वर्गको ध्यानाकर्षण गराउने, स्थानीय तह (पालिका) का कार्यसमितिहरू भद्दा र विधानअनुरूप बैठक सञ्चालन बोझिलो भएकोले प्रतिनिधित्व गराउने संख्या र पदहरूको संशोधन अपरिहार्य रहेको अवगत गराउने र कांग्रेसको विधानमा पार्टी प्रमुख सरकार प्रमुख भन्दा माथिल्लो तहमा राखिएकोमा स्थानीय तहमा पनि सोहीअनुरूपको व्यवस्था हुनुपर्ने र महानगर सभापतिहरूलाई आमन्त्रित सदस्यका रूपमा महाधिवेशनमा प्रतिनिधित्व गराउन पहल गर्ने निर्णय छ।

उक्त निर्णयमा ६ वटा महानगरका कांग्रेस सभापतिहरूको हस्ताक्षर रहेको छ। जसमा निलकाजी शाक्य, काठमाडौँ, सुभाननरत्न धाख्या ललितपुर महानगर, सुरेन्द्रमान बिजुक्छे पोखरा, चित्रसेन अधिकारी भरतपुर, मणिन्द्र नेपाली वीरगञ्ज र दीपक चापागाईं विराटनगर छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट