पति विदेशमा भएकी महिलाको टाउको गिँडेर विभत्स हत्या, शर र धड अलग–अलग ठाउँमा भेटियो
जनकपुर– धनुषाको विदेह नगरपालिका–५ मुरिबा टोलमा एक महिलाको टाउको काटेर हत्या गरिएको छ। श्रीमान लामो समयदेखि वैदेशिक रोजागारमा रहेकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको विभत्स हत्या भएको हो।
महिलाको धड (शरीर) नग्न अवस्थामा घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको छ भने शर (टाउको) कमला नदीको नहरमा भेटिएको छ। शरीर र टाउको भेटेको स्थानभन्दा करिव १ सय मिटर पर रगत बगेको देखिएको छ।
धारिलो हतियारले घाँटी छिनाएर महिलाको हत्या भएको धनुषा प्रहरीले जनाएको छ। स्थानीयका अनुसार मंगबार अपराह्न रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन्। अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो। तर त्यसको भोलिपल्ट रामपरीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको थियो। अहिले २ जनालाई रिहा गरिएको छ भने एक जना हिरासतमा छन्। घट्नाको अनुसन्धान भईरहेको धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।